Banner news

मानव अधिकार हनन् हुन दिदैंनौं : प्रजिअ गेलाल

मानव अधिकार हनन् हुन दिदैंनौं : प्रजिअ गेलाल


बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नागरिकको सुरक्षामा राज्यपक्षबाट कुनै पनि कमजोरी नहुने बताएका छन् । स्थानीय प्रशासनको प्राथमिकतामा नागरिकको सुरक्षा रहेको प्रजिअ गेलालको भनाई छ ।

झापाको बिर्तामोडमा बुधबार ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ गेलालले असुरक्षाको अनुभूति भएमा प्रशासनलाई खवर गर्न आग्रह गरेका छन् ।

उनले मानव अधिकार हनन् हुन नदिन सचेत रहेको जानकारी दिए । हरेक नागरिकको मानव अधिकारलाई ख्याल गरेर स्थानीय प्रशासन क्रियाशिल रहेको अवगत गराए । प्रजिअ गेलालले झापामा सीमा क्षेत्रमा अपराध नियन्त्रणका लागि आवश्यक निगरानी गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय रोहिंग्याको प्रवेश हुन सक्ने खतरालाई समेत ध्यान दिई सतर्कता अपनाइएको बताए । कहिकतैं शंकास्पद हुलहुज्जत देखिएमा खवर आग्रह समेत गरेका छन् ।

मानवअधिकार रक्षक परिषद कोशी प्रदेशका अध्यक्ष विष्णु खरेलले हरेक नागरिकको अधिकारको सुरक्षा गर्ने दायित्व राज्यको रहेको बताएका छन् । उनले राज्यको तर्फबाट नागरिकको मानव अधिकार रक्षामा कुनै पनि कमजोरी नगर्न सूझाव दिए ।

मानवअधिकारका लागि सबै कठोर बन्नुपर्ने खरेलको भनाई छ । अधिकारकर्मी खरेलले जेनजी आन्दोलनका नाममा मानव अधिकार हनन्का धेरै घटनाहरु भएको बताए । उनका अनुसार आन्दोलनमा नाममा आगजनी, तोडफोड गर्नु मानवीय काम होइन । यो मानव अधिकार उल्लंघन हो ।

आन्दोलनपछि अधिकारकर्मीहरु धेरै जोखिममा रहेको खरेलले बताएका छन् । विभिन्न मुद्दामा जेलमा रहेकाहरु बाहिर आएपछि अधिकारकर्मीहरु जोखिममा रहेका उनको भनाई छ । आन्दोलनमा स्कुले बालबालिकाहरुलाई जुलुसमा लैजान पाइन्छ कि पाइदैन ? यो बहसको विषय बन्नुपर्ने उनको धारणा छ ।

झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले मानवअधिकारप्रति संवेदनशील रहेको बताएका छन् । उनले नागरिकको अधिकारलाई ख्याल गरेर सेवा प्रदान गरिरहेको बताए । उनले प्रहरी कार्यालयहरुबाट नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न प्रतिवद्ध समेत रहेको उनको भनाई छ ।

अन्तरक्रियाअघि बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरी गरिएको थियो । मानवअधिकार जीवनको अपरिहार्य आधार भन्ने मुल नाराका साथ मानवअधिकार सञ्जाल झापाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको अधिकारीकर्मी दिपक दासले जानकारी दिए ।

प्रभातफेरीमा सुरुवाती कोठा नेपाल, एम्नेष्टी इन्टरनेसनल, एसएनजेडी, मानवअधिकार प्रतिष्ठन, नारी सञ्चार गृह, एबिसी नेपाल लगायत संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । प्रभातफेरीपछि भएको अन्तरक्रियामा इन्सेक झापाका स्रोत व्यक्ति नरेश खातीले जिल्लाको मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा मानवअधिकार रक्षक परिषद कोशी प्रदेशका महासचिव कमल कोइराला, नारी सञ्चार गृहको अध्यक्ष स्वस्तिका आचार्यलगायतले मन्तव्य राखेका छन् ।

शेयर गर्नुहोस :

27
Shares