बिर्तामोड । हाम्रो नेपाल साकोस बिर्तामोडले सहकारी क्षेत्रमा चौतर्फी प्रहार भइरहेको वर्तमान आर्थिक चुनौतीका बीच सदस्यहरूलाई लक्षित गर्दै आर्थिक वर्ष २०८१-०८२ मा एक करोड १० लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष राहत तथा सुविधा प्रदान गरेको छ ।
संस्थाको १३ औँ वार्षिक साधारण सभाअन्तर्गत सोमबार चन्द्रगढीमा आयोजित अन्तिम एकाइगत सभामा प्रस्तुत प्रतिवेदन अनुसार सदस्यहरूको उपचार खर्च, बचत सुविधा तथा गैर–वित्तीय सेवामा ५९ लाख ५० हजार १७ रुपैयाँ खर्च गरिएको छ ।

साथै, मानवीय संवेदनालाई उच्च प्राथमिकता दिँदै असामयिक निधन भएका ऋणी सदस्यका परिवारलाई १० लाख २२ हजार ६५ रुपैयाँ बराबरको ऋण मिनाहा गरिएको छ । कोभिड–१९ तथा आर्थिक मन्दीका कारण पेसा–व्यवसाय गुमेर किस्ता भुक्तानीमा ढिलाइ भएका सदस्यहरूलाई लक्षित गरी ३८ लाख ९४ हजार ६४८ रुपैयाँ हर्जाना छुट दिइएको संस्थाले जनाएको छ ।
उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभामा उहाँले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक अर्जुन लामाले तथा ऋण उपसमितिको प्रतिवेदन संयोजक तुलसीराम गौतमले प्रस्तुत गर्नुभयो। सभामा चन्द्रगढी सेवाकेन्द्र प्रमुख रेनुका प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सभामा प्रस्तुत वित्तीय तथ्याङ्कअनुसार ३९ हजार १०५ सदस्य आबद्ध रहेको संस्थाको कुल कारोबार (वासलात) २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ । संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ रहेको छ भने समीक्षा अवधिमा १३ लाख ४९ हजार ७३५ रुपैयाँ सञ्चालन नाफा आर्जन भएको छ ।
कार्यवाहक अध्यक्ष गौतमले शेयर सदस्यको सुझाव, नियमनकारी निकायको अनुगमन र निर्देशनलाई संस्थागत सुधारको अवसरका रूपमा लिइने बताउँदै सदस्यको बचत सुरक्षा र पारदर्शितामा संस्था प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
संस्थाका व्यवस्थापक सरोज दाहालका अनुसार सातवटै एकाइगत सभाहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । ती सभाबाट प्राप्त सुझाव समेटेर आगामी पुस १० गते बिर्तामोडस्थित आदर्श ब्याङ्केटमा अन्तिम माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरी १३ औँ वार्षिक साधारण सभाको औपचारिक समापन गरिने संस्थाले जनाएको छ ।







प्रतिक्रिया