सम्पादकीय
झापाको भूमिसुुधार तथा मालपोत कार्यालयमा जग्गा पास गर्ने विषयलाई लिएर विवाद भयो । मोही हक वापतको जग्गा पाएको परिवारले विक्री गर्न खोज्दा विवाद सुरु भएको थियो । बिर्तामोड वडा नं. १ मा रहेको बहुमुल्य जग्गा जामानु राजवंशीले मोही वापत करिव १ विघा प्राप्त गरेको विषय नै विवादको जड बनेको छ । मोही हक दावी गर्दै मुद्धा प्रक्रिया अघि बढेको र सो मुद्धाको फैसलापछि जमिन प्राप्त गरेको स्पष्ट छ । हक वापत मोहीले जमिन पाउनुपर्छ । खास मोही हो होइन भन्ने विषयमा भूमिसुधार तथा मालपोत कार्यालयले कागजातका आधारमा छुट्टाउनैपर्छ । जमिनको जोतभोग गरेको परिवारले नै मोही हक पाउनुपर्नेमा कसैको पनि अवरोध हुनु हुदैन ।
मालपोत कार्यालयमा नक्कली मोही खडा गरेर जमिन दिएको आरोप लागेको छ । कर्मचारीहरुले नै नक्कली मोही खडा गरेर जमिन उपलब्ध गराएको हो भनिदैछ । यदि गैरकानुनी काम भएको आशंका कसैलाई भएमा जग्गाधनी वा मोही पक्षले कानुनी बाटो अपनाउनुपर्छ । कर्मचारीहरुले जग्गाधनीलाई पनि अन्याय गर्न मिल्दैन । मोही हक पाउने परिवारलाई पनि अन्याय गर्न मिल्दैन । बिर्तामोड १ को घटनालाई मात्र हेर्ने हो भने मुद्धा प्रक्रियापछि मोही वापतको जग्गा दिन फैसला भएको उल्लेख छ । फैसला के कसरी भयो ? त्यसको जवाफदेही मालपोत कार्यालय हुनैपर्छ । होइन भने न्यायका लागि माथिल्लो निकायमा जाने बाटो खोलिदिनुपर्छ ।
बिर्तामोडको सम्बन्धित कार्की परिवारको जमिनमा मोही उल्टाइएको हो भने त्यसको कारबाही फैसला गर्ने निकायले भोग्नुपर्छ । नक्कली मोही खडा भएको खण्डमा राजवंशी परिवार पनि कारबाही भागेदार हुन्छ । यदि कार्की परिवारले ०५० सालमा गरेको लगत कट्टामा कैफियत छ भने पनि उनीहरु कारबाहीको भागेदार हुने छन् । श्रीमतिको नाममा मोही हक सारिसकेको अवस्थामा ०५० सालमा लगत कट्टा हुँदा वेपत्ता उल्लेख गरिएको भन्ने छ । श्रीमानको नाममा लगत कट्टा गरिएको हो भने श्रीमतिले दावी गर्ने आधार जिवित नै रहन्छ । किनभने, मोही हक नामसारी श्रीमतिको नाममा आइसकेको कागजले बोल्ने दावी छ । झापाको यो घटनाले जग्गाधनीहरुलाई त्रास भएको छ । नक्कली मोही खडा हुने वा जग्गाधनीले नै वास्तविक मोहीलाई थाहा नदिई नक्कली मोही खडा गर्ने जालझेलपूर्ण गतिविधि रोकिनुपर्छ । यस प्रकारका गतिविधि उपर स्वच्छ छानविन समेत हुन आवश्यक छ । झापा जिल्लाभर मोहीयानी हक सम्बन्धमा भएको विवादले मोही र जग्गाधनीहरु दुवै त्रसित भएको अवस्था छ । यसको चाँडोभन्दा चाँडो समाधान खोजिनुपर्छ ।







प्रतिक्रिया