सम्पादकीय

निर्वाचन लक्षित सुरक्षा व्यवस्था मिलाऊ

निर्वाचन लक्षित सुरक्षा व्यवस्था मिलाऊ


सम्पादकीय
फागुन २१ गते मुलुकमा प्रतिनिधिसभाको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका लागि आयोग आवश्यक तयारीमा लागेको छ । दलहरु पनि निर्वाचनमा सहभागी हुन आवश्यक तयारी गरिरहेका छन् । जेनजी आन्दोलनमा संसद् जलाएपछि प्रतिनिधिसभा विघटन गरिएको छ । प्रतिनिधिसभा विघटन भएपछि सुशिला कार्की नेतृत्वको सरकारले ताजा जनादेशका लागि निर्वाचनको मिति घोषणा गरेको हो । जेनजी आन्दोलपछि त्राहिमाम बनेको नेपाली समाज निर्वाचनको लागि जवरजस्त तयार बन्नुपर्ने अवस्था बनेको छ । डर, त्रासका बीच निर्वाचनको माहोल पनि बन्दै गइरहेको छ ।

जेनजी आन्दोलनका क्रममा देशभर सुरक्षाकर्मीमाथि हमला भयो । सुरक्षा निकायका कार्यालयहरुमा तोडफोड र आगजनी गरियो । कारागारबाट कैदीबन्दीहरु भागे । सुरक्षाकर्मीमाथि आक्रमण गर्दै हतियार लुटपाट गर्ने काम भयो । अहिले पनि धेरै कैदीबन्दीहरु बाहिर छन् । हतियार र गोली फिर्ता भइसकेको छैन । यो परिस्थितिका बीच हुने निर्वाचन भयमुक्त हुन सक्दैन । त्रासकै बीचमा मतदाता तयार बन्नुपर्ने भएको छ । मतदाता, उम्मेदवार र राजनीतिक दलहरु सुरक्षित निर्वाचनको अपेक्षा गरिरहेका छन् । तर, परिस्थिति जटिल नै छ । यसैले सरकारले सुरक्षाको प्रवन्ध मिलाउनुपर्ने देखिन्छ ।

झापाको कनकाई पुलमा शनिवार विहान शंकास्पद वस्तु फेला परेको थियो । निर्वाचनको तयारी भइरहेको बेला यस प्रकारको गतिविधिले थप त्रसित बनाउछ । शंकास्पद वस्तु फेला परेको ठाउँमा विभिन्न माग राख्दै पर्चा समेत छोडिएको थियो । राजसंस्था, हिन्दुराज्य लगायतका माग राख्दै सनातन सुरक्षा सेना नामको लेटरप्याडमा पर्चा फेला परेको थियो । निर्वाचनका सबै गतिविधिको विरोध गर्ने पर्चामा उल्लेख थियो । निर्वाचनको तयारी भइरहेको बेला यसरी माहोल बिगार्ने समूहको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ । सुरक्षा निकायले शंकास्पद वस्तु राख्ने समूहलाई नियन्त्रणमा नलिए दुर्घटना हुन सक्छ । यसैले कुनै पनि शंकास्पद गतिविधिहरुको नियन्त्रणमा राज्य पक्षबाट कमजोरी हुनु हुदैन । त्यसले निर्वाचनको वातावरण विग्रन सक्छ । निर्वाचनको वातावरण नविगार्न सुरक्षा मजवुद हुनुपर्छ ।

शेयर गर्नुहोस :

108
Shares