सम्पादकीय
झापाको भद्रपुरस्थित विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको विमान दुर्घटनामा परेको थियो । रन वेको पूर्व तर्फ ३०० मिटर ओभर रन भएपछि विमान खोल्सामा पुगेर अड्कियो । दुर्घटनामा परेको जहाजलाई आइतवार राती सुरक्षित स्थानमा सारिएको छ । दुर्घटनामा परेको विमानलाई खोल्साबाट बाहिर निकालेर आवश्यक जाँच र अध्ययनको काम सुरु गरिएको छ । शनिवार बाहिर निकाल्न नसकेपछि आइतवार रातीसम्म लगाएर बाहिर निकालियो । विमानमा ५१ ज्यान बचेको छ । विमान दुर्घटना हुँदा अपवादमा मात्रै मान्छे बाँच्न सक्छन् । भद्रपुरमा जसरी दुर्घटना भयो, त्यो अपत्यारिलो घटना हो । रनवेबाट त्यति टाढासम्म विमान चिप्लिएर खोल्सामा पुग्दा पनि आगलागी भएन । यदि आगलागी भएको थियो भने कोही पनि यात्रुको ज्यान सुरक्षित हुने थिएन ।
दुर्घटना हुनु हुदैन थियो, भयो । दुर्घटना के कति कारण र कमजोरीले भयो त्यसको पक्कै अनुसन्धान हुने नै छ । तर, दुर्घटनापछि देखिएका कतिपय दृष्यहरुले मानवता नै हराएको जस्ता अनुभूति गराइरहेको छ । बुद्ध एयरको दुर्घटनालाई मजाकका रुपमा प्रस्तुत गर्ने काम भइरहेको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकमा मजाकका सामग्री बनाइरहेको देख्न पाइन्छ । यति भयानक दुर्घटनाप्रति पनि संवेदनशिल नहुनुले नेपाली समाजमा मानवता नै हराएको जस्तो बनाएको छ । दुर्घटनामा परेर पनि ज्यान बचाउनेहरुले त्यस्तो मजाकका सामग्री हेर्दा कस्तो अनुभूति गर्छन् भन्ने हेक्का किन राखिदैन । यो दुर्घटनाको विषयलाई कसैले मजाक नबनाऔं । यसले दुर्घटनामा परेका व्यक्तिहरुलाई थप पीडा दिन्छ ।
जहाँ पुगेर बुद्ध एयरको विमान रोकियो, त्यहाँ खोल्सा थियो । यदि खोल्सा मात्रै पार गरेको थियो भने अगाडि तारवार भएको ठाउँमा पुग्ने थियो । तारवारमा पुगेको थियो भने आगलागी हुने सक्थ्यो । नजिकै कालोपत्रे सडक छ । यदि त्यहाँ घस्रिन पुगेको थियो भने अकल्पनीय क्षति हुने थियो । यति कुरा दुर्घटना आसपासका मान्छेहरुले पक्कै बुझेका छन् । तर, विमान सार्ने क्रममा रमिता हेर्न पुगेका स्थानीयले समेत गरेको मजाकले दुर्घटनाप्रति कुनै संवेदना नभएको स्पष्ट हुन्छ । भद्रपुरमा दुर्घटना हुँदा एक जना युवाले लात्तीले हानेर ढोका फुटाएर सबैको ज्यान बचाए । उनको सम्मानमा सामाजिक सञ्जाल भरिनु पर्नेमा उल्टै मजाकको विषय बनाइएको छ । यस तर्फ सबै सचेत हुनुपर्छ । त्यो घटनालाई लिएर कसैले पनि मजाक नगरौं । त्यहाँ घाईते भएका यात्रुहरु, पाइलटको मनोवल बढाउन सहयोग गरौं । मानवता हराएको होइन, मानवता भरिएको मान्छेको रुपमा आफुलाई चित्रित गरौं ।







प्रतिक्रिया