सम्पादकीय

न्यानो कपडा वितरणसँगै शैक्षिक सुधारमा ध्यान दिऊ

न्यानो कपडा वितरणसँगै शैक्षिक सुधारमा ध्यान दिऊ


सम्पादकीय
चिसो मौसम सुरु भएपछि जिल्लाभरका विद्यालयहरुमा एउटा अभियान सञ्चालन हुने गरेको छ । त्यो अभियान साझा जस्तै देखिन्छ । सबैले एकै प्रकृतिको अभियान विद्यालयहरुमा सञ्चालन गर्ने गरेको पाइन्छ । सामुदायिक विद्यालयहरुमा गरिव विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने अभियान सञ्चालन हुने गर्छ । झापाका धेरै विद्यालयहरुमा अहिले पनि न्यानो कपडा वितरण भइरहेको छ । चिसो मौसम सुरु हुनुभन्दा पहिले अभियान सञ्चालन गर्ने हो भने अझ प्रभावकारी हुने थियो । चिसो मौसमको आधा समय कटेपछि कपडा वितरण हुने गरेको छ । यो सामाजिक हिसावले अत्यन्तै सराहनीय काम हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव विपन्न विद्यार्थीलाई यो आवश्यक पनि छ ।

धेरै परिवारका बालबालिकाहरु चिसोकै कारण विद्यालय जान सक्दैनन् । न्यानो कपडाको अभावले विद्यार्थी विद्यालय जाँदैनन् । अहिले बजार क्षेत्रका धेरै विद्यालयहरुमा यस प्रकारको अभियान सञ्चालन हुने गरेको छ । यस्तो अभियानलाई ग्रामीण क्षेत्रमा पुराउने हो भने थप प्रभावकारी हुन्छ । ग्रामीण क्षेत्रमा गरिवी दर उच्च छ । बालबालिकाहरु त्यहाँ धेरै प्रभावित छन् । न्यानो कपडा वितरण गर्नेहरुलाई सबैले धन्यवाद नै दिनुपर्छ । सँगसगै अर्कातिर पठनपाठनको अवस्था कस्तो छ ? त्यसलाई पनि मध्यनजर गर्न अपरिहार्य छ । कपडा वितरण एउटा पाटो हो भने अर्कातिर पठनपाठनको गुणस्तर अर्को पाटो हो ।

न्यानो कपडा वितरण गर्नेहरु संभवत वर्षमा एक पटक विद्यालय जाने हो । वर्षमा एउटा विद्यालयमा कपडा बोकेर जाने गरेको पाइन्छ । त्यसरी नै विद्यालयको शैक्षिक उन्नयनका लागि पनि समय दिन आवश्यक छ । आ–आफ्नो क्षेत्रमा रहेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान गर्नुपर्छ । बेलाबेला विद्यालय जाने, विद्यालयको शैक्षिक नतिजा के कस्तो छ ? हेर्ने गर्नुपर्छ । शिक्षक कर्मचारीलाई काममा प्रोत्साहित गर्न सहयोग गर्नुपर्छ । विद्यालयहरुप्रति अभिभावकहरुलाई जिम्मेवार बनाउन अभियान सञ्चालन गर्नेहरुले प्रेरित गर्नुपर्छ । विद्यालयमा सहयोग गर्नेहरुले विद्यालय सुधारमा सहयोग गर्न सकिन्छ । सहयोग पनि गर्ने, शैक्षिक गुणस्तरका लागि खवरदारी पनि गर्ने काममा सबैले चासो दिन जरुरी छ ।

शेयर गर्नुहोस :

108
Shares