सम्पादकीय
संविधानले पिछडिएको समुदाय र वर्गलाई राज्यको मुल प्रवाहमा ल्याउन समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था पनि गरेको छ । प्रत्यक्षले प्रतिष्पर्धा गरेर र समानुपातिकमा मतका आधारमा संसदभित्र प्रतिनिधित्व गराउने व्यवस्था छ । सिमान्तकृत, दलित, महिला लगायत राज्यको मुल प्रवाहबाट पछि परेको समुदायलाई समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गराउने व्यवस्थाका विपरित नयाँ भनिएको दल रास्वपाले देशका चर्चित अनुहारलाई ल्याउन चाहेपछि देशभर विरोध भइरहेको छ । धनाड्य युवा, कलाकारिता क्षेत्रका चर्चित अनुहार, मोडलहरुलाई बन्द सूचीमा राखेपछि रास्वपामाथि लगातार प्रहार भइरहेको छ । नयाँ भन्ने दलबाटै समानुपातिक व्यवस्थाको मर्मलाई अवमुल्यन गर्ने कार्यले रास्वपालाई पनि क्षति भएको छ ।
रास्वपाले समानुपातिक उम्मेदवारको लागि बुझाएको बन्द सूचीमाथि व्यापक प्रश्न उठेको छ । सामाजिक पहिचान राम्रै बनाएका अनुहारहरु समानुपातिकमा आएपछि पछि पारिएको समुदाय र वर्गले राज्यको मुल प्रवाहमा अवरोध हुने धारणा सार्वजनिक भइरहेको छ । विभिन्न क्षेत्रमा रहेका अगुवाहरु, जसले मुलुकमा विभिन्न हिसावले योगदान गरिरहेकाहरुले बन्द सूचीबाट धमाधम नाम फिर्ता समेत लिइरहेका छन् । बुधबारसम्म १२ जना उम्मेदवारले नाम फिर्ता लिए । रास्वपाले गरेको गम्भीर गल्तीमा आफुलाई समाहित गर्न चाहेनन् । पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. रामजी रामले समेत नाम फिर्ता लिने घोषणा गरिसके ।
डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् । अब उनीहरुले प्रत्यक्षबाट उम्मेदवार बनेर जनताको मन जित्न सक्नुपर्छ । कतिपयले राष्ट्रको निमित्त योगदान गर्न संसदको कुर्सीमै बस्नु नपर्ने धारणा व्यक्त गरे । वास्तवमा, राष्ट्रका लागि कुनै पनि क्षेत्रबाट योगदान गर्न सकिन्छ । राजनीतिकर्मीले सामान्यतयः संसदीय निर्वाचन वा राजनीतिक जिम्मेवारी लिनु स्वभाविक नै हो । तर, एउटा गायकले राजनीतिक जिम्मेवारी लिइरहन जरुरी छैन । देशमा व्यापार क्षेत्रबाट पनि राष्ट्रलाई योगदान गर्न सकिन्छ । व्यापारीले पनि संसदको कुर्सीमै बस्न पर्छ भन्ने छैन । विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले आफ्नै क्षेत्रबाट योगदान गर्न सकिन्छ । समाजमा चिनिएका व्यक्तित्वहरुलाई समानुपातिक उम्मेदवार बनाएर रास्वपाले चर्चित अनुहार देखाएर फाइदा लिन खोजेको हो । त्यो निर्णय रास्वपालाई प्रतिउत्पादक बनेको छ । दलहरुले के गर्न हुन्छ ? के हुदैन भन्ने विषयमा व्यापक छलफल गरेर मात्र निर्णय लिनुपर्छ । अन्यथा, रास्वपाले जस्तै विरोधको भारी बोक्नुपर्नेछ । फाइदाका लागि गरेको कामले थप नोक्सान व्यहोर्नु पर्नेछ ।







प्रतिक्रिया