विचार

मतदाताले भुल्न हुदैन त्यो दिन

मतदाताले भुल्न हुदैन त्यो दिन


प्रदीप परियार

जेनजी आन्दोलनले मुलुकलाई जवरजस्त निर्वाचनमा धकेको छ । आन्दोलनको लक्ष्य विपरित देश चुनावमा होमिएको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । प्रत्यक्ष उम्मेदवारहरुले उम्मेदवारी नै दर्ता गराइसके ।
जेनजी आन्दोलनले सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालको नियमन फुकुवाको माग राखेको थियो ।

आन्दोलनको मुख्य माग विपरित देशमा हिंसात्मक घटना भयो । देशलाई पछि धकेल्ने काम भयो । सुशासन र भ्रष्टाचारको अन्त्यका लागि निर्वाचन मुख्य आधार होइन । कानुनको कार्यान्वयन र नागरिक चेतना नै मुख्य आधार हो । यो सबैमा जगजायर छ । दर्जनौं ठगीका मुद्दा काँधमा बोक्नेहरुबाट देशमा सुशासन र भ्रष्टाचारको अन्त्य कल्पना गर्न सकिन्न । नेता, कर्मचारी र नागरिकमा लोभ लालचा मात्र कम हुने हो भने मुलुकलाई सुशासनको बाटोमा लैजान सकिन्छ । तथापि, तत्कालिन नेतृत्वहरुलाई सत्ताबाट बाहिर निकालेर सुशासन र भ्रष्टाचारको अन्त्य हुन सक्दैन ।

जेनजी आन्दोलनमा कलिला बालबालिहकाहरुको प्रयोग गरेर देशमा सत्ता हत्याउने काम भयो । निर्माणको गतिमा रहेको विकास योजनालाई रोक्ने काम भयो । आन्दोलनले किताव बेच्न हिड्नेहरुदेखि अन्तरवार्ताकारहरुलाई मन्त्री बनायो । जो मन्त्रीको लाइनमा थिएनन् । उनीहरु मन्त्रीको दौडमा नरहे पनि परिस्थितिले केही महिनाका लागि सत्ताको स्वाद लिने अवसर दियो । निर्वाचन गर्न बनेको अन्तरिम सरकारका मन्त्रीहरु धमाधम राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । सञ्जालमा देखिएको लहडकै आधारमा संसदको यात्रा गर्ने सपना देखेकाहरुबाट मुलुकमा सुशासन र भ्रष्टाचारको अन्त्य हुन सक्दैन । जो व्यवस्थाको जगलाई बलियो बनाउन क्रियाशिल थिए, उनीहरुले नै हो सुशासन ल्याउने । भ्रष्टाचारको अन्त्य गर्ने । तर, उनीहरुमाथि भ्रम फैलाएर निराशा बढाउने काम गरियो ।

देशको लागि परिवार त्याग्नेहरु, जेलनेल भोग्नेहरुसँग निराश भएका जनताले ठगहरुबाट आशा गर्नु अचम्म भएको छ । हुनतः नागरिकमाथि पनि प्रश्न उठेको छ । देश जलाउनेहरु, ठगहरुको पक्षमा उभिनु भनेको हिंसाको पक्षपोषण हो, ठगहरुको ठगी स्वीकार गर्नु हो । यसरी देशले नयाँ अनुहार पाउन सक्ला तर देशमा परिवर्तन पाउन सकिदैन ।

सामाजिक सञ्जालको प्रयोग गरेर निराशामाथि खेल्ने काम भइरहेकै छ । विदेशीको षडयन्त्रमाथि धेरै चर्चा नगरौं । सञ्जालमार्फत नेपाली नागरिकको दिमाग भुट्ने काम रोकिएको छैन । सञ्जालबाट बहकाउने प्रयासलाई नेपाली नागरिकले बुझ्न आवश्यक छ । सञ्जालको प्रोपोगाण्डाले देशमा सुशासन ल्याउन सकिदैन । देशमा योगदान गर्ने नेताहरुमाथि इगो देखाउने हो भने देश फेरि पनि दुर्घटनामा पर्ने निश्चित छ । यसैले देशलाई दुर्घटनामा पर्न नदिन देश जलाउने होइन, बनाउनेहरुलाई विजय गराउनुपर्छ ।

लामो समयको त्याग, बलिदानबाट मुलुकले संविधान पाएको छ । संविधानले नागरिकलाई अधिकार सम्पन्न बनायो । अधिकार प्राप्त गर्ने सवालमा भएका कमजोरीलाई विधि मार्फत सच्याउनुपर्छ । यो कमजोरीलाई सच्याउन निर्वाचन नै आधार हो भन्नु गलत भाष्य हुनेछ । संविधानको कार्यान्वयन नै मुख्य आधार हो ।

गरिवीको दर घटेको छ । शिक्षामा नागरिकको पहुँच बढिरहेको छ । स्वास्थ्य सेवा विस्तार भइरहेको छ । मातृ र शिशु मृत्यूदर घटेको छ । झुपडी बनाउनेहरुको संख्या घट्दैछ । सडक, पुल, सार्वजनिक संरचनाहरुको निर्माण तीब्र छ । रोजगारको वातावरण तयार भइरहेको छ । यो नै होइन र देश निर्माण भनेको । गरिखानेहरुका लागि देशकै माटो उपयुक्त छ । गरिखान नसक्नेहरु अमेरिकाका सडकमा अहिले पनि लागुऔषध सेवन गरेर जिन्दगी विताइरहेका छन् । यस्ता कयौं देशहरु छन् । जहाँ देश सम्पन्न भए पनि बेरोजगारहरु उस्तै छन् ।

झापाकै माटोमा तरकारी बेचेर वर्षको २ करोड आम्दानी गर्ने किसान छन् । दुध बेचेर मासिक लाखौं आम्दानी गर्नेहरु यहि छन् । यो वातावरण तयार भएको होइन र ? स्वार्थको रोटी सेक्नेहरुले निराशामाथि घ्यू थप्ने काम गरेका छन् । जनतालाई अधिकार सम्पन्न बनाउनेहरु भ्रम फैलाएर देश कब्जा गर्ने सपनामा छन् । नागरिकले जसरी नेतृत्व चयन गर्छन्, त्यसै अनुसार देश सुखको बाटोमा जानेछ ।

जेनजी आन्दोलनका नाममा देशमा आतंक मच्चाईयो । भदौं २३ गते बालबालिकाहरुको प्रयोग गरेर देशलाई तहसनहस बनाइयो । बालबालिकाहरुलाई अघि सारेर देशका सारा सम्पत्ति खरानी बनाउनेहरुबाट सुशासन र भ्रष्टाचारको अन्त्य संभव छैन । जसले बालबालिकाहरुलाई उकासेर प्रयोग गरेको थियो, उनीहरु वास्तवमा ‘हत्यारा’ हुन् । २३ गतेका कारण २४ गतेको घटना भयो भन्ने जहाँसम्मको भाष्य खडा गरिएको छ, त्यो सतप्रतिशत झुट हो । किनभने संसद् जलाउने, नेताहरुमाथि आक्रमण गर्ने, नेताका घर पहिचान गर्ने जस्ता योजना भदौं २३ अघि नै सामाजिक सञ्जालहरुमा सार्वजनिक भइसकेका थिए । देश सिध्याउने योजनावद्ध जेनजी आन्दोलनका योजनाकारहरुलाई मतदाताले भुल्न हुदैन ।

फोटो गुगल 

शेयर गर्नुहोस :

297
Shares