सम्पादकीय

मतदाता भावनामा बगेर हुदैन, योजनाबारे प्रश्न गरौं

मतदाता भावनामा बगेर हुदैन, योजनाबारे प्रश्न गरौं


सम्पादकीय
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन गइरहेको छ । सो निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिरहेको छ । यसैक्रममा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदातालाई आन्तरिक रुपमा भेटघाटलाई तीब्रता दिइरहेका छन् । उनीहरु मतदातालाई भेट्ने र मत माग्ने काम गरिरहेका छन् । मतदाता पनि उम्मेदवारलाई मत दिने आश्वासन दिइरहेका छन् । उम्मेदवारसँग मतदाताले पर्याप्त प्रश्न गर्नुपर्छ । यसै मत दिने होइन । उम्मेदवारलाई उनीहरुको योजना के हो ? बुझ्नुपर्छ । नागरिकको जीवनमा परिवर्तन ल्याउन कस्तो घोषणापत्र बन्दैछ ? यस्ता प्रश्न सोध्नुपर्छ । निर्वाचन मत माग्ने र दिने औपचारिकता मात्र होइन । देशको भविष्य तय गर्ने महत्वपूर्ण अवसर नै निर्वाचन हो ।

कुनै पनि निर्वाचनमा मतदाताले उम्मेदवारसँग उनीहरूको घोषणापत्र र योजनाबारे गम्भीरतापूर्वक सोधपुछ गर्नुपर्छ । उम्मेदवारहरू मत माग्दै गाउँ–टोल र बजार घुमिरहेका बेला मतदाताले पनि आफ्नो अधिकार प्रयोग गर्दै स्पष्ट प्रश्न राख्न जरुरी छ । उम्मेदवारको योजना के हो ? पाँच वर्षमा के–के परिवर्तन ल्याउनुहुन्छ ? शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग र सुशासनका विषयमा तपाईंको दृष्टिकोण के हो ? यसरी प्रश्न गर्दा चित्त बुझ्दो जवाफ आउँछ भने मात्रै मत दिनुपर्छ । अर्थात, राम्रो दृष्टिकोण भएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । आज देशको मुख्य चुनौती बेरोजगारी, मूल्यवृद्धि, भ्रष्टाचार र असमान विकास हुन् । यसको समाधान गर्ने व्यक्तिलाई विजय गराउनुपर्छ । काम गर्नका लागि नयाँ वा पुरानो भन्नेले केहि अर्थ राख्दैन ।

जनतालाई सुखी र मुलुकलाई समृद्ध बनाउने नीति घोषणामा सीमित नभई व्यवहारमा लागू हुने हुनुपर्छ । त्यसका लागि उम्मेदवारहरूले दीर्घकालीन सोचसहित ठोस र यथार्थपरक योजना प्रस्तुत गर्नुपर्छ । नीति निर्माणमा उनीहरूको भूमिका के हुन्छ ? संसदमा पुगेपछि कुन कानुन ल्याउने, कुन संशोधन गर्ने र कसरी कार्यान्वयन सुनिश्चित गर्ने ? सबै प्रश्नको जवाफ दिन सक्नुपर्छ । मतदाताको दायित्व पनि त्यत्तिकै ठूलो छ । भावनामा बगेर होइन, तथ्य र योजनाको आधारमा मत दिनुपर्छ । जात, क्षेत्र, पार्टी वा व्यक्तिको प्रचारभन्दा माथि उठेर, देश र समाजका लागि को उपयोगी हुन्छ भन्ने सोच्नुपर्छ । मतदाता जागरूक भए मात्र लोकतन्त्र बलियो हुन्छ । लहरको पछि लागियो भने देश निर्माणको महत्वपूर्ण समय बर्बाद मात्रै हुने छ । देश कस्तो बनाउने भन्ने मुख्य जिम्मेवार मतदाता हुन् । इमानदार र पारदर्शी प्रतिबद्धता जनाउनेलाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाऔं । प्रश्न गरौं, जवाफ खोजौं ।

शेयर गर्नुहोस :

54
Shares