सम्पादकीय
आजका विद्यार्थीहरू ज्ञानको महासागरमा तैरिरहेका छन् । कुन बाटो समाउने भन्ने निर्णयमा भने धेरै अलमलिन्छन् । विज्ञान, प्रविधि, व्यवसाय, स्वास्थ्य, कला विकल्पहरू प्रशस्तै छन् । त्यसमध्ये सही छनोट बिना भविष्यको यात्रा जटिल बन्छ । यसका लागि विद्यार्थीहरुका लागि करियर काउन्सिलिङ कार्यक्रमको महत्व झनै बढेको छ । झापाको धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको करियर काउन्सिलिङमा विद्यार्थीहरुले लाभ लिएका छन् । त्यहाँ काउन्सिलिङको आवश्यकता स्पष्ट भयो । कक्षा ८, ९ र १० का विद्यार्थीहरू जीवनको महत्वपूर्ण मोडमा उभिएका हुन्छन् । यो उमेरमा रुचि, क्षमता र अवसरबीच सन्तुलन खोज्न पर्छ ।
धेरैजसो अभिभावकको दबाब, समाजको धारणा वा क्षणिक आकर्षणका आधारमा विषय छनोट गर्दै आएका छन् । परिणामस्वरूप पढाइमा रमाइलोपन हराउँछ, आत्मविश्वास घट्छ र दीर्घकालीन लक्ष्य अस्पष्ट बन्छ । करियर काउन्सिलिङले विद्यार्थीलाई आफ्नै रुचि र क्षमताको पहिचान गर्न सहयोग गर्छ । विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दा विद्यार्थीले विषयको वास्तविकता, सम्भावना र चुनौती बुझ्न पाउँछन् । यसले आगामी बाटो समाउन उनीहरुलाई मद्दत पुग्छ । आजको विश्वमा एआई, मेडिसिन, कृषि, पत्रकारिता, कानुन, इन्जिनियरिङ, आतिथ्य व्यवस्थापनजस्ता क्षेत्रहरू तीव्र रूपमा बदलिरहेका छन् । त्यसैले यसबारे आधारभुत आवश्यक जानकारी दिन आवश्यक छ ।
विद्यालयले आयोजना गरेको काउन्सिलिङमा आधारित परामर्शले अभिभावकलाई पनि सही निर्णय लिन सहयोग पुग्छ । कसले “के पढ्ने ?” मात्र होइन, “किन र कसरी पढ्ने ?” भन्ने प्रश्नको उत्तर दिन मद्दत गर्छ ।
अब समय आएको छ, करियर काउन्सिलिङलाई विद्यालय शिक्षा प्रणालीमा प्राथमिकता दिनुपर्छ । स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र निजी तथा सरकारी साझेदारीमार्फत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ । युवालाई सपनाको दिशा देखाउने काम आजबाटै सुरु गरौँ । यसले भोलिको आत्मविश्वासी, दक्ष र सन्तुष्ट नागरिक निर्माणमा ठुलो सहयोग पुग्छ । यसका लागि सरोकारवालाहरुले युवा तथा विद्यार्थीहरुलाई अनिवार्य रुपमा करियर काउन्सिलिङ गर्न अपरिहार्य छ ।







प्रतिक्रिया