सम्पादकीय
झापा बिर्तामोडको हर्कलाल मार्ग एउटा रणनीतिक महत्वको सडक हो । निकै लामो समयदेखि यो सडक कालोपत्रे हुन सकिरहेको थिएन । हुन त अहिले पनि पूर्णरूपमा कालोपत्रे भइसकेको छैन । जे जति कालोपत्रे गरिएको छ, त्यो आफैँमा एउटा विशिष्ट अवस्था हो । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिँदै गर्दा एमाले नेता देवराज घिमिरेले हर्कलाल मार्ग जसरी पनि कालोपत्रे गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । पटक–पटक सडक कालोपत्रे हुने आशा बोकेका स्थानीयलाई त्यसले उत्साहित पनि बनाएको थियो । स्थानीयको आशा, उत्साह र भरोसालाई घिमिरेले परिणाममा परिणत गरिदिए ।
झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर गएपछि सभामुखको भूमिका समेत निर्वाह गर्ने अवसर प्राप्त गरेका घिमिरेले आफ्नो बचनलाई खेर जान दिएनन् । परिणाम त हर्कलाल मार्ग आजको अवस्थामा आइपुग्यो । विकासका लागि दृढ इच्छाशक्ति र अडान चाहिन्छ । मतदाताप्रतिको जिम्मेवारी बोधले विकास आयोजना कार्यान्वयन गर्न सहयोग पुग्छ । आफ्नो प्रतिबद्धतालाई पूरा गर्ने र मतदाताको मायालाई सम्मान गर्ने घिमिरेको प्रयास आफैँमा सराहनीय छ । लामो समयदेखि कालोपत्रे हुन नसकिरहेको अवस्थामा जसरी हर्कलाल मार्ग बनेको छ, अरु थुप्रै सडक संरचनाहरू बनाउन निवर्तमान सभामुख घिमिरेले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
हर्कलाल मार्ग एउटा उदाहरण मात्रै हो, थुप्रै विकास आयोजनामा बजेट व्यवस्थापन गर्ने कामदेखि कार्यान्वयनको चरणसम्म लैजाने काममा घिमिरेको सक्रियता लोभलाग्दो छ । निर्वाचन जितेर गएका जनप्रतिनिधिले आफ्नो पूर्ववत प्रतिबद्धता बिर्सिएनन् भने विकास आयोजनाका कामले गति प्राप्त गर्छन् भन्ने उदाहरण निवर्तमान सभामुख घिमिरे हुन् । दीर्घकालीन र रणनीतिक महत्वका विकास आयोजनामा बजेट विनियोजन गर्न लगाउने काममा समेत उनले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जनस्तरमा विकास आयोजनाको प्रभाव आफैँमा विशिष्ट किसिमको छ । संरचनागत सुधारका साथै थप आयोजनाहरूलाई गति दिन आज पनि घिमिरेको सक्रियता उत्तिकै देखिन्छ ।







प्रतिक्रिया