सम्पादकीय

प्रभावकारी मतदाता शिक्षा जरुरी

प्रभावकारी मतदाता शिक्षा जरुरी


सम्पादकीय

मुलुकमा फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । लोकतन्त्रको यो महत्वपूर्ण पर्वमा नागरिकको एक–एक मतले देशको भविष्य तय गर्छ । मतदाताले आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट बुझाई नराखी दिइने मतले अपेक्षित परिणाम दिन सक्दैन । यही कारण निर्वाचनमा मतदाता शिक्षा अत्यन्तै आवश्यक र समयसापेक्ष विषय बनेको छ । निर्वाचन आयोगले पनि देशभर वडातहसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । आयोगले चुपचाप छाप होइन, सोच विचार गरी छाप हान्न सिकाउनुपर्छ । मतदातालाई कसरी मतदान गर्ने भन्ने बारेमा शिक्षा नदिए बदरको खतरा धेरै हुन्छ । हरेक मतदाताको मत सुरक्षित हुनुपर्छ ।

मतदाता शिक्षा भन्नाले नागरिकलाई निर्वाचन प्रक्रिया, उम्मेदवार छनोटका आधार, मत हाल्ने तरिका, मतको गोपनीयता र आफ्नो मतको मूल्यबारे जानकारी दिनु हो । शिक्षित मतदाता भावनामा होइन, विवेकमा आधारित भएर निर्णय गर्छ । उसले उम्मेदवारको घोषणापत्र, विगतको काम, इमान्दारिता र जनताप्रतिको उत्तरदायित्व मूल्यांकन गर्छ । यसले लोकतन्त्रलाई बलियो बनाउँछ । नेपालजस्तो विविध सामाजिक, आर्थिक र शैक्षिक पृष्ठभूमि भएको देशमा सबै मतदातासम्म सही सूचना पु¥याउनु चुनौतीपूर्ण छ । अझै पनि कतिपय ठाउँमा अफवाह, पैसाको लोभ, जात–धर्म वा व्यक्तिगत सम्बन्धका आधारमा मत हाल्ने प्रवृत्ति देखिन्छ । यस्ता प्रवृत्तिले योग्य र इमानदार नेतृत्व आउन नदिई लोकतन्त्र कमजोर बनाउँछ । त्यसैले राज्य, निर्वाचन आयोग, नागरिक समाज र राजनीतिक दल सबैले मिलेर प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

विशेषगरी युवाहरू, पहिलो पटक मत हाल्ने मतदाता, महिला, दलित, आदिवासी र दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर सरल र व्यावहारिक ढंगले शिक्षा दिनुपर्छ । विद्यालय, कलेज, समुदाय, सामाजिक सञ्जाल मार्फत मतदाता शिक्षालाई व्यापक बनाउन सकिन्छ । मतदान अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । सचेत र शिक्षित मतदाताबाट मात्रै सक्षम, उत्तरदायी र जनमुखी संसद निर्माण सम्भव हुन्छ । त्यसैले फागुन २१ को निर्वाचनलाई सार्थक बनाउन मतदाता शिक्षामा जोडदिन आवश्यक छ । मतदान प्रक्रियालाई थप सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउन आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न गर्दैछ । आसन्न निर्वाचनले देश बचाउन सहयोग हुने पुग्ने परिणाम दिनुपर्छ । मतदाता शिक्षाले देश जोगाउने सवालमा भूमिका निभाउनुपर्छ ।

शेयर गर्नुहोस :

54
Shares