सम्पादकीय

निर्वाचनका नाममा विभाजित नबनौं

निर्वाचनका नाममा विभाजित नबनौं


सम्पादकीय
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा समुदायमा राजनीतिक तिक्तता बरिहेको छ । समुदायमा यस प्रकारको तिक्तता देखिनु चिन्ताजनक विषय हो । लोकतन्त्रमा चुनाव प्रतिस्पर्धाको स्वस्थ माध्यम हो । पछिल्ला दिनमा घरदैलोका क्रममा समर्थकबीच दुव्र्यवहार गर्ने, आरोप–प्रत्यारोपमा उत्रिने र सामाजिक सम्बन्धमा दरार ल्याउने प्रवृत्ति बढ्दै गएको छ । विगतमा मिलेर बसेको समाजमा यस प्रकारको विभाजन दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । निर्वाचन अस्थायी प्रक्रिया हो । समाज स्थायी हो भन्ने यथार्थ सबैले मनन गर्न आवश्यक छ । आज फरक राजनीतिक धारमा उभिएका छिमेकी, आफन्त र साथीभाइ भोलि पनि हाम्रो सुख–दुःखका साझेदार नै रहनेछन् ।

मतको भिन्नताका कारण सम्बन्ध बिगार्ने, वैमनस्यता बढाउने वा दुस्मनी साँध्ने व्यवहार लोकतान्त्रिक संस्कृतिसँग मेल खाँदैन । राजनीतिक असहमति सभ्य र मर्यादित ढंगले व्यक्त गर्न सकिन्छ भन्ने परिपक्वता समाजले देखाउनुपर्छ । मतदाता स्वयं पनि सजग हुनुपर्ने बेला आएको छ । निर्वाचन भावनाको विषय होइन, देशको भविष्यसँग जोडिएको जिम्मेवारी हो । कसले देश बनाउने स्पष्ट दृष्टि, इमानदार नेतृत्व र जनहितको कार्यक्रम अघि सारेको छ भन्ने आधारमा विवेकपूर्ण निर्णय लिनु आजको आवश्यकता हो । क्षणिक प्रलोभन, दबाब वा आवेगमा अमूल्य मत खेर फाल्नु भनेको आफ्नै भविष्य कमजोर बनाउनु हो ।

शनिवार बिर्तामोडमा भइरहेको घरदैलोमा रास्वपा समर्थक महिलाले देखाएको व्यवहारप्रति गाउँलेहरुले नै सम्झाउन बाध्य हुनुपर्यो । एमालेको घरदैलो चलिरहेको बेलामा पछिपछि आएर भिन्न दलप्रति अमर्यादित गतिविधि प्रस्तुत गर्नु ठिक होइन । रास्वपा मात्र होइन, कुनै पनि दलमा आस्था राख्नेहरुप्रति अमर्यादित व्यवहार प्रस्तुत गर्नु हुदैन । अतः आसन्न निर्वाचनलाई प्रतिस्पर्धाको उत्सवका रूपमा लिँदै सामाजिक सद्भाव कायम राख्नु सबैको साझा दायित्व हो । फरक मतलाई सम्मान गर्ने, सम्बन्धलाई बलियो बनाउने र शान्तिपूर्ण वातावरणमा मतदानमा सहभागी हुने संस्कार विकास गर्न सकियो भने मात्रै लोकतन्त्र सुदृढ बन्छ । निर्वाचनपछि पनि यही समाजमा मिलेर अघि बढ्नुपर्ने यथार्थलाई सम्झँदै संयम, सहिष्णुता र जिम्मेवारीका साथ मताधिकार प्रयोग गरौं ।

शेयर गर्नुहोस :

54
Shares