सम्पादकीय

सबैलाई समीक्षाको अवसर

सबैलाई समीक्षाको अवसर


सम्पादकीय
निर्वाचन होला नहोला भन्दाभन्दै फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भयो । अहिले मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक भइरहेको परिणामले सबैलाई अचम्मित बनाएको छ । यहि व्यवस्थामा बहुमत आउदैन भन्ने कयौं विश्लेशकहरू फेल भएका छन् । जनताले रास्वपालाई दुई तिहाई बहुमत नजिक पुराए । अन्तिम परिणाम सार्वजनिक भएपछि संख्या निश्चित हुने नै छ । लोकतन्त्रमा जनमत नै अन्तिम निर्णयकर्ता हो । जनताले दिएको निर्णयलाई सबै राजनीतिक दल र नेताहरूले सम्मानपूर्वक स्वीकार गर्नुको विकल्प छैन । निर्वाचन परिणामले केही दल र उम्मेदवारलाई अपेक्षित सफलता दिलाउन सकेन भने केहीलाई अनपेक्षित रूपमा ठूलो जनसमर्थन प्राप्त भएको देखिन्छ ।

अपेक्षाकृत परिणाम हासिल गर्न नसक्ने दलहरूका लागि यो गम्भीर आत्मसमीक्षाको मौका हो । विगतका कमजोरी, नीति, व्यवहार र जनतासँगको सम्बन्धको समीक्षा गरेर सुधारको बाटो रोज्नु नै उनीहरूका लागि उपयुक्त हुनेछ । अर्कोतर्फ जनमतबाट अप्रत्याशित सफलता हासिल गर्नेहरूका लागि पनि यो खुसी मात्र होइन, ठूलो जिम्मेवारीको घडी हो । चुनावी अभियानका क्रममा जनतासँग गरिएका वाचा र प्रतिबद्धता अब व्यवहारमा उतार्नुपर्ने समय आएको छ । जनताले परिवर्तनको अपेक्षासहित दिएको मतलाई परिणाममुखी काममार्फत प्रमाणित गर्नुपर्छ ।

पछिल्ला वर्षहरूमा मुलुकको संसद् प्रायः अल्पमत र गठबन्धनको अंकगणितमा अल्झिएको थियो । शक्ति सन्तुलन, सत्ता समीकरण र दाउपेचको राजनीतिले जनतामा निराशा बढाएको यथार्थ लुकाउन सकिँदैन । यही असन्तुष्टिले यसपटकको निर्वाचनमा फरक जनादेश दिएको हो । बहुमत प्राप्त गरेको दलका लागि अब कुनै बहाना बाँकी छैन । सरकार गठनका लागि अन्य दलसँग भागबण्डा गर्नुपर्ने अवस्था नभएकाले काम गर्न वातावरण भएन भन्ने तर्क स्वीकार्य हुने छैन । जनताले दिएको बहुमतको अर्थ नै स्थिरता र परिणाममुखी शासन हो । त्यसैले अब जीतको उन्माद र हारको पीडाभन्दा माथि उठेर भविष्यको बाटो तय गर्नुपर्छ । लोकतन्त्रको सार जनताको विश्वासमा निहित हुन्छ । त्यो विश्वासलाई जोगाउँदै मुलुकलाई सही दिशामा अघि बढाउनु नै अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो । जनमतमाथि विश्वास घात गरेको खण्डमा जनता फेरि पनि कारबाहीको लागि तयार हुने नै छन् ।

शेयर गर्नुहोस :

108
Shares