सम्पादकीय
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय बहुमत प्राप्त गरेपछि मुलुकको राजनीतिक वृत्तमा नयाँ सन्देश गएको छ । यस परिणामलाई दलगत प्रतिस्पर्धाको जितहारका रूपमा मात्र होइन, जनताले दिएको परिवर्तनको संकेतका रूपमा रास्वपाले बुझ्न आवश्यक छ । यदि रास्वपाले पनि पुरानै दलहको प्रवृत्ति देखाए जनताले समय कुरेर बस्नेवाला छैनन् । लामो समयदेखि राजनीति गर्दै आएका पुराना दलहरूप्रति जनतामा असन्तुष्टि बढ्दै गएको सन्दर्भमा आएको यो परिणामले उनीहरूलाई आत्मसमीक्षा र सुधारतर्फ अग्रसर हुन स्पष्ट संकेत गरेको छ । पुराना दलहरूले जनताको सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्छ ।
लोकतन्त्रमा जनमत नै सर्वोच्च हुन्छ । जनताले दिएको निर्णयलाई स्वीकार गर्दै आफ्नो नीति, कार्यशैली र व्यवहारमा सुधार गर्नु आजको आवश्यकता हो । राजनीतिक दल मात्र होइन, राज्यका अन्य संरचनाहरूले पनि यस सन्देशलाई बुझ्न जरुरी छ । विशेषगरी कर्मचारीतन्त्रप्रति नागरिकको असन्तुष्टि बढ्दो छ । सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा अनावश्यक झन्झट, ढिलासुस्ती र प्रक्रियागत जटिलताले आम नागरिकलाई हैरान बनाइरहेको गुनासो व्यापक छ । नागरिकमैत्री सेवा प्रवाह अपरिहार्य छ । कर्मचारीहरूले जनताको सेवक भएको भावनाका साथ काम गर्न सके मात्र राज्यप्रतिको विश्वास बलियो बन्न सक्छ ।
कृषिप्रधान देश भए पनि किसानले राज्यबाट पाउनुपर्ने सहयोग अपेक्षाअनुसार पुग्न सकेको छैन । उत्पादन, बजार र प्रविधिको अभावका कारण किसान निराश बन्ने अवस्था छ । यसतर्फ सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्छ । रास्वपाले यो अवसर कुनै आन्दोलन वा विशेष योगदानका कारण मात्र प्राप्त गरेको होइन । जनताले परिवर्तनको अपेक्षासहित दिएको अवसर मात्र हो । त्यसैले यो परिणाम सबै क्षेत्रका लागि चेतावनी र अवसर दुवै हो । यदि राजनीतिक दल, कर्मचारीतन्त्र र राज्यका सबै निकायले यसलाई सुधारको अवसरका रूपमा लिए भने मात्र मुलुकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्नेछ । अन्यथा, जनताले सास्ती भोग्नुपर्ने छ । जनतामा सेवाको भावना जागृत गर्न सबै क्षेत्रमा परिवर्तनको आवश्यकता छ ।







प्रतिक्रिया