सम्पादकीय
झापा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने ग्यास खरिदका लागि डिलरहरुमा उपभोक्ताको भीड देखिन थालेको छ । केही स्थानमा ग्यास अभाव हुनसक्ने भन्ने हल्ला फैलिनासाथ धेरै उपभोक्ता आवश्यकताभन्दा बढी ग्यास जोहो गर्न तर्फ लागेका छन् । यस्तो प्रवृत्तिले बजारमा अनावश्यक त्रास फैलाउने मात्र होइन, कृत्रिम अभाव सिर्जना गर्ने जोखिम पनि बढाउँछ । झापामा रहेका ग्यास उद्योगी र डिलरहरुले भने हाल आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । विगतमा जस्तै नियमित रूपमा ग्यास आयात भइरहेको र तत्काल अभाव हुने अवस्था नरहेको उनीहरुको भनाइ छ । त्यसैले अहिले देखिएको भीड वास्तविक अभावका कारणभन्दा पनि हल्लाको प्रभावका कारण भएको अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा इरान, इजरायल र अमेरिका बीच बढ्दो द्वन्द्वका कारण भारतमा ग्यास आपूर्तिमा केही समस्या देखिएको समाचार सार्वजनिक भइरहेका छन् । जलमार्गमार्फत हुने आयात–निर्यातमा केही अवरोध आएको चर्चा पनि छ । तर यसको प्रभाव तत्काल नेपालमा पर्ने अवस्था भने देखिएको छैन । उद्योगीहरुले कम्तीमा फागुन महिनासम्म आपूर्तिमा कुनै समस्या नहुने बताइरहेका छन् । यद्यपि भारतमा समस्या दीर्घकालीन रूपमा रहिरहे त्यसको प्रभाव विस्तारै नेपालमा पनि पर्न सक्ने सम्भावना भने नकार्न सकिँदैन । तर सम्भावित समस्याको नाममा अहिले नै अत्यधिक परिमाणमा ग्यास संकलन गर्नु बुद्धिमानी होइन । यस्तो व्यवहारले बजारमा कृत्रिम अभाव सिर्जना गरिदिन्छ र वास्तविक आवश्यकता भएका उपभोक्तालाई समस्या पर्न सक्छ ।
यसैले उपभोक्ताले हल्ला र अफवाहको पछि लाग्नु हुँदैन । आवश्यक परेको अवस्थामा मात्र ग्यास खरिद गर्नुपर्छ । जिम्मेवार नागरिकको रूपमा अनावश्यक हाहाकार फैलाउने काम कसैले गर्नु हुँदैन । बजारमा स्थिरता कायम राख्न उपभोक्ताको संयम र विवेक अत्यन्त महत्वपूर्ण हुन्छ । यस्तो समयमा कालाबजारीको पनि उत्तिकै जोखिम हुने हुँदा सरोकारवालाले अनुगमन गर्नुपर्छ । भारतमा सिलिण्डर प्रयोगको समय समेत निर्धारण गर्न थालिएको छ । उपभोक्ताले छिटो छिटो ग्यास खरिद गर्न सक्ने संभावनालाई भारतमा नीतिगत रुपमा कडाई गरिएको छ । यहाँ पनि सबै उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर स्थानीय डिलरहरुले पनि कडाई गर्नुपर्छ । एउटै उपभोक्ताले धेरै जोहो गरिरहेको हुन सक्छ । त्यस तर्फ व्यवसायीहरुले विशेष सतर्कता अपनाउन जरुरी छ ।







प्रतिक्रिया