सम्पादकीय

ग्यासको कालोबजारी गर्नेलाई कारबाही गर

ग्यासको कालोबजारी गर्नेलाई कारबाही गर


सम्पादकीय

मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनावको असर विश्वभरका ऊर्जा बजारमा देखिन थालेको छ । यसको प्रभाव नेपालमा समेत प्रत्यक्ष रूपमा महसुस हुन थालेको छ । विशेषगरी खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुँदा यसको असर सिधै नेपाली भान्सासम्म पुगेको छ । अहिले धेरै स्थानमा उपभोक्ताले पूरा सिलिण्डर होइन, आधा सिलिण्डर मात्र पाउन थालेका छन् । नेपाल आयल निगमले वर्तमान अवस्थालाई ध्यानमा राख्दै ग्यास उद्योगहरूलाई आधा सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएको छ । यस निर्णयको उद्देश्य सिमित आपूर्तिलाई सम्भव भएसम्म धेरै उपभोक्तासम्म पु¥याउनु हो । संकटको समयमा यस्तो व्यवस्था केही हदसम्म उचित मान्न सकिन्छ । यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भने समस्या अझ जटिल बन्न सक्छ ।

यस्तो अवस्थामा केही व्यवसायीले सिलिण्डर लुकाएर बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई ठगी गर्ने जोखिम पनि बढ्छ । त्यसैले निगमले स्पष्ट रूपमा चेतावनी दिँदै सिलिण्डर लुकाएर बिक्री गरेको पाइए कारबाही गर्ने तयारी गरेको छ । यो कदम आवश्यक र समयानुकूल हो । तर केवल चेतावनी मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । ग्यास वितरणको मुख्य उद्देश्य सबै उपभोक्तालाई आवश्यकताअनुसार समान रूपमा सेवा उपलब्ध गराउनु हो । यसका लागि व्यवसायीहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । संकटको अवसरमा नाफा कमाउने सोच राख्नु नैतिक र सामाजिक दुवै हिसाबले गलत हो।

यससँगै सरोकारवाला निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले संयुक्त रूपमा बजारको अवस्था निगरानी गर्नुपर्छ । ग्यासको भण्डारण, बिक्री र वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न सके मात्रै उपभोक्ताको विश्वास कायम रहन्छ । ऊर्जा आपूर्ति संकटको यस्तो समयमा सबै पक्षको जिम्मेवारी बढेको हुन्छ । व्यवसायीको इमान्दारिता, सरकारको कडाइ र प्रभावकारी अनुगमनले मात्र उपभोक्तालाई राहत दिन सक्छ । अहिलेको आवश्यकता अभाव सिर्जना गर्ने होइन, सीमित स्रोतलाई न्यायपूर्ण र व्यवस्थित रूपमा बाँडफाँट गर्ने हो । यदि कसैले मौका छोपेर कालाबजारी गर्छ भने हदैसम्मको कानुनी कारबाही गरेर देखाउनुपर्छ ।

शेयर गर्नुहोस :

81
Shares