सम्पादकीय
झापासहित देशका विभिन्न भागमा हावाहुरीले क्षति गरिरहेको छ । धनमालसाथै मानवीय क्षति समेत भइरहेको छ । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश भएकाले मौसम अनुसार यहाँ क्षति व्यहोर्न बाध्य बन्नु परेको छ । भूकम्प, बाढी, पहिरो जस्ता ठूला विपद्का विषयमा धेरै चर्चा हुने गरेको छ । हरेक वर्ष जनधनको क्षति पु¥याउने अर्को विपद् हो, हावाहुरी । यसलाई कम महत्व दिइन्छ । पछिल्ला वर्षहरूमा देखिएको अवस्था हेर्दा हावाहुरी पनि नेपालको लागि गम्भीर प्राकृतिक जोखिम बनेको स्पष्ट देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा नियमित रूपमा हुने प्राकृतिक प्रकोपमध्ये हावाहुरी पनि एक हो ।
प्रि–मनसुनको समयमा तीव्र गतिमा चल्ने हावाहुरीले घरका छाना उडाउनु, रुख ढाल्नु, बिजुलीका पोल तथा तारहरू क्षति पु¥याउनु जस्ता घटनाहरू बारम्बार देखिने गरेका छन् । यसले गर्दा सर्वसाधारणको दैनिक जीवन प्रभावित हुनुका साथै आर्थिक क्षति पनि बढ्दै गएको छ । झापामा समेत मानवीय क्षति भइसकेको छ । हावाहुरीका कारण मानवीय क्षतिसँगै, घरमा क्षति हुने गरेको छ । हावाहुरीको क्षति कम गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको पूर्वतयारी र सावधानी नै हो । घर निर्माण गर्दा संरचनालाई मजबुत बनाउने, छानालाई राम्रोसँग बाँध्ने, खुला स्थानमा राखिएका सामग्रीलाई सुरक्षित बनाउने जस्ता सामान्य उपायहरूले पनि ठूलो क्षति हुनबाट जोगाउन सक्छ । तर व्यवहारमा भने यस्ता सावधानीलाई पर्याप्त ध्यान दिइएको पाइँदैन । जब हावाहुरी चल्न सुरु हुन्छ, तब सावधानी अपनाउन थालिन्छ ।
हावाहुरी चलिरहेको बेला घरभित्र सुरक्षित बस्ने, कमजोर संरचना वा रुखमुनि नबस्ने, यात्रा गरिरहेका बेला सुरक्षित स्थान खोज्ने जस्ता सामान्य सावधानी अपनाउन सके धेरै दुर्घटना टार्न सकिन्छ । हाम्रो समाजमा विपद्को जोखिमलाई गम्भीर रूपमा नलिने प्रवृत्ति अझै देखिन्छ । यही कारणले गर्दा सानो सावधानीले टार्न सकिने क्षति पनि कहिलेकाहीँ ठूलो दुर्घटनामा परिणत हुने गरेको छ । सरकार र सम्बन्धित निकायले पनि जोखिम न्यूनीकरणका लागि जनचेतना बढाउने कार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक छ । स्थानीय तह, समुदाय र नागरिक समाजसँगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्दै सुरक्षित घर निर्माण, विपद् पूर्वतयारी र आपतकालीन व्यवस्थापनबारे जानकारी दिनु अत्यन्त जरुरी छ । विपद् न्यूनीकरणमा सचेतना उत्तिकै महत्वपूर्ण हुन्छ । हावाहुरीले पनि ठूलो क्षति पु¥याउन सक्छ भन्ने तथ्यलाई सबैले बुझौं । समयमै सतर्कता अपनाऔं ।







प्रतिक्रिया