सम्पादकीय
झापाको बाह्रदशी गाउँपालिकाले एकैसाथ १६ जना प्रधानाध्यापक हटाएर नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ । १६ वटा सामुदायिक विद्यालयका लागि नयाँ नियुक्ति गर्ने निर्णयले बाह्रदशीमा तरंगित बनाएको छ । सामुदायिक विद्यालय सुधारका लागि यो निर्णयलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । बाह्रदशी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय प्रशासनिक विषय मात्र होइन । शैक्षिक सुधारतर्फको महत्वपूर्ण निर्णय हो । वर्षेनी घट्दो शैक्षिक नतिजा, कक्षा ८, एसईई र कक्षा १२ सम्म शून्य नतिजा आउने अवस्था र ठूलो लगानीको तुलनामा न्यून उपलब्धि—यी सबैले परिवर्तनको आवश्यकता स्पष्ट पारेको थियो ।
सामुदायिक विद्यालयको सुधारका लागि गाउँपालिकाको यो पहल साहसिक र समयसापेक्ष छ । शिक्षा क्षेत्रको गुणस्तर सुधारमा नेतृत्वको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । विद्यालयको वातावरण, शिक्षक–विद्यार्थीको मनोबल, र समग्र शैक्षिक दिशा प्रधानाध्यापकको नेतृत्वमा निर्भर रहने गर्छ । त्यसैले योग्य, प्रतिस्पर्धी र परिणाममुखी नेतृत्व चयन गर्न खुल्ला प्रतिस्पर्धाको अवधारणा स्वागतयोग्य छ । यसले पुराना संरचनामा जकडिएको प्रणालीलाई गतिशील बनाउँदै नयाँ ऊर्जा भित्र्याउने अपेक्षा गर्न सकिन्छ । हाल कार्यरत प्रधानाध्यापकहरुलाई प्रतिस्पर्धामा सहभागी हुने अवसर दिइनु पनि सकारात्मक पक्ष हो । यसले अनुभव र नवीनताको सन्तुलन कायम गर्न मद्दत पु¥याउँछ । योग्य र सक्षम व्यक्तिले पुनः अवसर पाउने सम्भावना रहनु न्यायपूर्ण प्रक्रिया नै मान्न सकिन्छ ।
नयाँ प्रधानाध्यापक नियुक्तिको निर्णयसँग सम्बन्धित केही कानुनी र प्रक्रियागत प्रश्नहरू पनि उठेका छन् । सरोकारवालाबीच संवाद र सहमति आवश्यक छ । ताकि सुधारको अभियान विवादमा नफसियोस् । शिक्षक संगठनहरूले उठाएका चिन्ताहरूलाई सम्बोधन गर्दै पारदर्शी र विधिसम्मत प्रक्रिया अपनाउनु अनिवार्य हुन्छ । समग्रमा, बाह्रदशी गाउँपालिकाको यो पहल सामुदायिक विद्यालय सुधारका लागि एउटा अवसर हो । अब आवश्यक छ, निष्पक्ष छनोट प्रक्रिया, स्पष्ट कार्यसम्पादन मूल्याङकन र दीर्घकालीन शैक्षिक दृष्टिकोण । यदि यी पक्षहरू सुनिश्चित गर्न सकिए भने यो निर्णयले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा र सकारात्मक परिवर्तनको नयाँ अध्याय सुरु गर्नेछ । त्यसका लागि सबैको साथ सहयोग अनिवार्य छ ।







प्रतिक्रिया