सम्पादकीय
सवारी चलाउँदा सुरक्षित ढंगबाट चलाउनुपर्छ । सुरक्षित रुपमा चलाउनु पर्छ भन्ने ज्ञान हुँदा पनि सवारी दुर्घटना भइरहेको छ । धेरैजसो लापरबाहीकै कारण सवारी दुर्घटना भइरहेको छ । झापाको तथ्याङकले पनि दुर्घटना बढिरहेको स्पष्ट हुन्छ । झापामा चालु आर्थिक वर्षको आठ महिनामा सवारी दुर्घटनाबाट ५० जनाको ज्यान गयो । यो संख्या ठुलो हो । यति धेरै मानिसको ज्यान जानु गम्भीर चिन्ताको विषय हो । ८८२ वटा दुर्घटना, ८२ गम्भीर घाइते र १४ सय ६६ सामान्य घाइतेको तथ्यांकले सडक सुरक्षाको अवस्था बारे स्पष्ट बनाएको छ । कति लापरबाहीपूर्ण तरिकाले सवारी चलाइरहेको छ भन्ने यो तथ्याङकले स्पष्ट पारेको छ ।
गत माघ महिनामा मात्र १८ जनाको मृत्यु भयो । यसले सवारी जोखिम झन् बढ्दो क्रममा रहेको संकेत गरेको छ । सवारी दुर्घटनाका कारणहरू अनेक हुन सक्छन् । सडकको अवस्था, सवारी साधनको प्राविधिक कमजोरी, मौसम आदि । तर यथार्थ के हो भने अधिकांश दुर्घटनामा चालकको लापरबाही मुख्य कारणका रूपमा देखिन्छ । तीव्र गति, मदिरा सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको बेवास्ता, मोबाइल प्रयोग गर्दै ड्राइभ गर्ने जस्ता व्यवहारले दुर्घटनालाई निम्त्याउने गरेको छ । यस सन्दर्भमा चालकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सुरक्षित यात्राको पहिलो सर्त नै जिम्मेवार चालक हो । चालकले गति सीमा पालना गर्ने, सिटबेल्ट तथा हेल्मेट अनिवार्य प्रयोग गर्ने, थकान लागेको अवस्थामा सवारी नचलाउने र ट्राफिक संकेतको पूर्ण पालना गर्ने जस्ता आधारभूत नियमहरू कडाइका साथ अपनाउन जरुरी छ । यी सामान्य लाग्ने कुराहरूले नै धेरै दुर्घटना रोक्न सक्छन् ।
झापामा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने १४ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गर्नु सकारात्मक पक्ष हो । तर कारबाही मात्र समाधान होइन । जनचेतना अभिवृद्धि, चालक तालिमको गुणस्तर सुधार र विद्यालय तहदेखि नै सडक सुरक्षाबारे शिक्षा आवश्यक छ । सडक सुरक्षा सरकार वा ट्राफिक प्रहरीको मात्र दायित्व होइन, प्रत्येक चालकको चेतना र जिम्मेवारीसँग जोडिएको विषय हो । सुरक्षित यात्रा, जीवनको रक्षा भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्न सके मात्र दुर्घटनाको भयावह अवस्था न्यूनीकरण गर्न सकिन्छ । साथै, ट्राफिक सचेतना विद्यालय तहबाट पठनपाठन हुनुपर्छ । दुर्घटना भएपछि मात्रै नियमका बारेमा सोधीखोजी गर्ने परम्परालाई अन्त्य गर्दै बाल्यकालबाटै सवारी चलाउने ज्ञान, सुरक्षा सतर्कता बारे जानकारी दिनुपर्छ । सवारी चलाउँदा विशेष ख्याल गरौं, आफू र अरुलाई बचाऔं ।







प्रतिक्रिया