Banner news

तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार


काठमाडौँ, २२ कात्तिकः यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शुक्रबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शुक्रबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ । दोस्रो दिन शनिबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ । आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो ।

तिहारको तेस्रो दिन आज बिहान उठेर नजिकको नदी, ताल, तलाउ, पोखरी, वा धारामा गई स्नान गरिएको थियो । यसलाई नरक चतुर्दशी स्नान भनिन्छ । स्नानपछि बत्ती बालेर दक्षिण फर्र्काई बगाइएको थियो । यसलाई नरक बगाउने पनि भनिन्छ । बिहान नित्य कर्म सकेपछि कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिइएको छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन कात्तिक २३ गते सोमबार गाई पूजा गरिँदै छ ।

पाँचौँ दिन कात्तिक २४ गते मङ्गलबार गोवद्र्धन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ । नियमित तिथि गणना गर्दा पाँचौँ परेपनि दिन अनुसार छैटौँ कात्तिक २५ गते बुधबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २५ गते बुधबार ११ः०७ बजे उत्तम रहेको समितिका अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu