बिर्तामोड । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले अवैध रूपमा भित्र्याइएको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरको पटाका तथा आतिसबाजीजन्य सामग्रीहरू नष्ट गरेको छ ।
तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले झापा गण तथा मातहतका युनिटहरूबाट खटिएका चेकिङ टोलीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटाकाहरू नष्ट गरिएको हो ।
तिहार र छठ जस्ता पर्वहरूमा नियन्त्रणविहीन रूपमा पटाका पड्काउँदा आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति हुनुका साथै ध्वनि र वातावरणीय प्रदूषणको जोखिम बढ्ने भएकाले सशस्त्र प्रहरीले ओसारपसार र बिक्री–वितरणमा निगरानी बढाएको जनाएको छ ।
पटाका र आतिसबाजीको प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणको स्वास्थ्य एवम् सुरक्षामा प्रतिकूल असर पार्ने भन्दै यस्ता सामग्रीको प्रयोग नगर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले सम्पूर्ण जिल्लावासीमा अनुरोधसमेत गरेको छ ।
सामग्री नष्ट गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया