शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा बिहीबार आयोजित साधारणसभाले माइन्युट प्रमाणीकरण सदस्यको छनौट ,माइन्युट लेखन , शेयर लाभांश तथा पुँजी फिर्ता कोष वितरण , अध्यक्षको वार्षिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि एवं झापा जिल्ला सहकारी संघका सहसचिव टस बहादुर श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाका अध्यक्ष छविलाल शिवाकोटीले संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार ११२४ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड २१ लाख १८ हजार १ सय रुपैयाँ रहेको छ । विभित्र कोषहरुमा जम्मा ९१ लाख ८१ हजार ६ सय ३ रुपैयाँ ३७ पैसा छ । बचतको कारोबार १ करोड ४२ लाख ९७ हजार ४ सय ८६ रुपैयाँ र लगानी ३ करोड ३ लाख ९१ हजार ५७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेलले आव ०८२ ÷०८३ असार मसान्तसम्मको वित्तीय स्थिति विवरणहरु प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाका ज्येष्ठ शेयर सदस्यहरु घनश्याम भट्टराई ,प्रभाखर काफ्ले र कौशिलादेवी बराल ,असल बचत कर्ताहरु मिना राई, दिल कुमारी गहतराज, असल ऋणीहरु भिमलाल चौधरी र नारायणी खतिवडालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यसै क्रममा शेयर सदस्य छोराछोरी एस . ई .ई . उत्कृष्ट विद्यार्थी हृदिका प्रसाई र उत्कृष्ट कर्मचारी इन्दिरा कोईरालालाई सम्मानपत्रसहित मायाको चिनो स्वरुप तामाको सानो घैला प्रदान गरेर सम्मान गरिएको थियो ।
अध्यक्ष शिवाकोटीको सभापतित्व र सचिव कृष्णप्रसाद चापागाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सहकारी संस्थाप्रति इमानदारी तथा लगनशील हुन आग्रह गरे । सहकारी ऐन–नियमको मापदण्ड पालना गरेर संस्थालाई अगाडि बढाउन उनले शेयर सदस्यहरुलाई सुझाव दिए । अहिले राज्यले नयाँ सहकारी ऐन, नियम ल्याएको जानकारी गराए । अहिलेको नयाँ ऐन, नियम अनुसार फौजदारी अभियोग लागेको व्यक्ति संचालक समितिको सदस्य हुनबाट अयोग्य ठहरिनेछ । सरकारले यस्तो नीति – नियम पहिले नै ल्याउनुपर्ने उनको भनाइ थियो ।
संस्थाका सहसचिव युवराज प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमसागर सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका –८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती ,पूर्व प्रदेश सांसद बृख बहादुर प्रधान, सामाजिक तथा शैक्षिक व्यक्तित्व कमल प्रसाद गुरागाई ,सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष भैरव बहादुर खड्का , कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर तामाङ , सल्लाहकार सदस्य नरेन्द्र राई , सीता कडेल लगायतको आतिथ्यता रहेको थियो ।







प्रतिक्रिया