रुपन्देही । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका उनी उमेरका आधारमा पाउने कैद छुट सुविधापछि जेलमुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । हिजै समय पूरा भए पनि आज बिहान ७ बजे उनी डिल्लीबजार कारागारबाट बाहिर आएको उनलाई लिन पुगेका लिला केसीले नेपाल प्रेसलाई बताए । ‘बिहान ६ः४५मा कारागारमा पुगेका थियौँ, ७ बजे त्यहाँबाट निस्केका हौँ, अहिले सातदोबाटो घरमा पुगेका छौँ,’ उनले भने, ‘केही दिन आराम गरेर अर्घाखाँची जाने कुरा हुन्छ होला ।’ अर्घाखाँची स्थायी घर भएका रायमाझी सांसद रहेकै बेला पक्राउ परेका हुन् ।
काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैदमुक्त गरिएको हो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए ।
रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो ।
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
गम्भीर प्रकृतिको राजनीतिक तथा आर्थिक अपराधका रूपमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू मुछिएका थिए । यो प्रकरणमा दोषी ठहर भएका रायमाझीको रिहाइ भने उमेरका आधारमा प्राप्त कानुनी सुविधासँग जोडिएको छ ।
कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीकामाला लगाएर स्वागत गरेका छन् । जेलमुक्त भएसँगै लामो समयदेखि कारागारमा रहेका पूर्वउपप्रधानमन्त्रीको राजनीतिक तथा सार्वजनिक जीवनको आगामी भूमिका कस्तो हुने भन्ने चासोसमेत बढेको छ ।







प्रतिक्रिया