मुख्य समाचार

जनआदर्श माविका ‘बीएससी शिक्षक’ को स्वेच्छिक अवकास

जनआदर्श माविका ‘बीएससी शिक्षक’ को स्वेच्छिक अवकास


शिवसताक्षी । जीवनभर ज्ञानको ज्योति छर्दै विद्यार्थीको भविष्य निर्माणमा समर्पित एक शिक्षक जब आफ्नै कर्मभूमिबाट बिदा हुन्छन्, त्यो क्षण एउटा औपचारिक बिदाईमा सीमित रहँदैन । त्यसमा वर्षौंको समर्पण, आत्मीयता, सम्झना र भावनाहरू जोडिएका हुन्छन् ।

यस्तै भावुक क्षण झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय शिवगञ्जमा देखियो । विद्यालयले लामो समय शिक्षण सेवामा समर्पित शिक्षक टिकाराम काफ्लेलाई एक कार्यक्रमका बीच सम्मानसहित बिदाइ गरेको छ ।

स्वास्थ्य समस्याका कारण स्वेच्छिक अवकाश लिनुभएका काफ्लेलाई विद्यालयले कदरपत्र प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ । विद्यालयमा ३४ वर्ष १० महिना ७ दिन अनवरत शिक्षण सेवा प्रदान गर्नुभएका काफ्ले शिवगञ्ज क्षेत्रमा ‘बीएससी शिक्षक’ का रूपमा परिचित हुनुहुन्थ्यो ।

आफू जलेर अरूलाई उज्यालो दिने पवित्र पेशामा समर्पित काफ्लेले २०४८ साल पुस २५ गते जनआदर्श माध्यमिक विद्यालयमा निजी शिक्षकका रूपमा सेवा प्रारम्भ गर्नुभएको थियो । २०५२ साल चैत ११ गते अस्थायी र २०६३ साल कात्तिक १३ गते स्थायी शिक्षकका रूपमा नियुक्त हुनुभएको विद्यालयका प्रधानाध्यापक रमेश कुमार दाहालले जानकारी दिनुभयो । उहाँले २०६४ साल साउनदेखि सहायक प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो ।

लामो समय एउटै विद्यालयमा रहेर विद्यार्थीलाई ज्ञान र संस्कार दिनुभएका काफ्लेले बिदाईका क्रममा विद्यालय परिवार, सहकर्मी शिक्षक तथा विद्यार्थीहरूसँगको सम्बन्ध जीवनभर कायम रहने बताउनुभयो । शिक्षण सेवामा अझै केही समय बिताउने चाहना हुँदाहुँदै पनि स्वास्थ्य अवस्थाका कारण अवकाश लिनुपरेको उहाँले सुनाउनुभयो । आफ्नै जीवनको महत्वपूर्ण समय बिताएको विद्यालय र परिवारबाट बिदा हुनुपर्दा उहाँ भावुक बन्नुभएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले शिक्षक काफ्लेको विद्यालयप्रतिको योगदान अतुलनीय रहेको बताउनुभयो । जीवनको लामो समय एउटै विद्यालयमा समर्पित गरेर सेवा गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै उहाँले काफ्ले एक कर्मठ र समर्पित शिक्षक भएको बताउनुभयो ।

आफूलाई समेत पढाउनुभएका गुरु काफ्लेको योगदान स्मरण गर्दै वडाध्यक्ष कार्कीले अवकाशपछिको जीवन सामाजिक सेवामा बितोस् भन्दै सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।

त्यसैगरी वडा सदस्य गोमा रिजालले विद्यालयले एक अनुभवी, दक्ष र ‘बीएस्सी शिक्षक’का रूपमा विद्यालयमा विशेष पहिचान बनाउनुभएका काफ्लेको अभाव विद्यालय परिवारले सधैँ महसुस गरिरहने उहाँको भनाइ थियो ।
बिदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरूले फूलमाला लगाएर काफ्लेलाई सम्मान व्यक्त गरेका थिए । विद्यालयले उहाँलाई घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाएको थियो ।

कार्यक्रममा पत्रकार तथा विद्यालयका पूर्वविद्यार्थी अनिलदेव राईलगायतले शुभकामना मन्तव्य राख्दै शिक्षक काफ्लेको योगदानको चर्चा गर्नुभएको थियो । विदाई कार्यक्रमा विद्यालयका प्र.अ. रमेशकुमार दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन शिक्षक दिनेश श्रेष्ठले गर्नुभएको थियो ।

३४ वर्षभन्दा लामो समय एउटै विद्यालयलाई आफ्नो कर्मभूमि बनाएर हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान पु¥याउनुभएका काफ्ले औपचारिक शिक्षण सेवाबाट बिदा हुनुभएको छ । तर उहाँले विद्यार्थीमा रोप्नुभएको ज्ञान, संस्कार र प्रेरणाको उज्यालो भने उहाँका विद्यार्थीहरूको जीवनमा सधैँ रहिरहनेछ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu