काठमाडौं। नेकपा (एमाले)ले असंवैधानिक ढङ्गले अपहरण गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने सङ्कल्प गरेको छ। दुईदिने राष्ट्रिय भेलाले राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने निर्णय गरेको हो।
राष्ट्रिय भेलाले गरेका विशेष सङ्कल्प
– गत वर्ष व्यहोर्नुपरेको धक्कालाई चिर्दै धुलो टकटक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ। हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ। आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्नेछौँ।
– हामी पार्टीले गरेका ऐतिहासिक कामहरूप्रति गर्व गर्छौँ। कमीकमजोरीहरूलाई बिना मोलाहिजा सच्याउनेछौँ। सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ।
– हामी जनताको बिचमा जानेछौँ। उहाँहरूका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ। तिनलाई आत्मसात् गर्नेछौँ।
– युवा पुस्तासँग संवाद गर्नेछौँ। उहाँहरूको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ। उहाँहरूसँग सहकार्य गर्नेछौँ र आन्दोलनमा उहाँहरूको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेछौँ।
– हामी जिम्मेवारी लिँदा खाएको शपथप्रति हमेशा प्रतिबद्ध रहनेछौँ। नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउनेछौँ। मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचारसंहिताको अक्षरशः पालना गर्नेछौँ।
– पार्टी पङ्क्तिमा देखा परेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेछौँ र जनताको सेवकका रूपमा स्थापित हुनेछौँ।
– कतिपय नेता–कार्यकर्तामा देखा परेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ। तिनलाई हटाउनेछौँ। स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रूपमा नेकपा (एमाले)को छविलाई थप उज्यालो बनाउनेछौँ।
– निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावनाअनुरूप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ। पार्टीको निर्णयलाई आत्मसात् गर्दै पार्टी उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ।
– महँगी, अभाव, विस्थापन, बेरोजगारी, विभेद, बसाइँसराइ, निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउनेछौँ। समाधानका लागि पहल गर्नेछौँ। सुख–दुःखमा हमेशा जनताको साथमा रहनेछौँ।
– अधिवेशन र बैठकहरूमा स्वस्थ बहस गर्नेछौँ। सहमति निर्माणको प्रयास गर्नेछौँ। लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेछौँ।
– गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेछौँ। आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ। सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्नेछौँ।
– असहमतिहरूलाई सम्मान गर्नेछौँ। असमझदारी र अस्वस्थता हटाउनेछौँ। सबै कमरेडहरूलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेछौँ। सिङ्गो पार्टीको ऊर्जालाई एकजुट बनाउन हरसम्भव प्रयत्न गर्नेछौँ।
– हामी आफ्नो जिम्मेवारीलाई गम्भीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ। आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ। अरूतिर औँला तेर्स्याएर आफू दायित्वबाट पन्छिनेछैनौँ।
– महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरूप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरूको दुरुपयोगप्रति घृणा गर्नेछौँ। सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ।
– हामी विश्वास गर्छौँ– पार्टीको शक्तिको स्रोत जनविश्वास हो। नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो। सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ। राजनीतिको आदर्श जनताको सेवा हो। पार्टीको भविष्य आफूभित्र हुने रूपान्तरण र सामाजिक रूपान्तरणमा खेल्ने भूमिका हो। हामी यसै आधारमा अगाडि बढ्नेछौँ।







प्रतिक्रिया