मुख्य समाचार

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना


काठमाडौँ, ५ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिशा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली (बादल) रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो मधेश र कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू-भागका साथै मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu