बैशाख १०, २०८२ बुधबार

झापा कारागार छिटो स्थान्तरण गर

झापा जिल्ला कारागार एक दिन विस्फोट हुनेछ, त्यो नौलो हुने छैन – महान्यायाधीवक्ता अग्नि खरेलले सरकारी वकिल कार्यालय झापाको भवन उद्घाटनको अवसरमा मन्तव्य राख्ने क्रममा भनेका थिए । जिल्ला कारागारको जोखिम दुनियालाई थाहा छ । झापा र झापाभन्दा बाहिरका सबै निकाय यसबारे जानकार नै छन् । तर, जोखिमयुक्त कारागार व्यवस्थापनमा राज्य पक्ष संवेदनशील बनेको पाइदैन । अग्नि खरेलले सबैलाई जानकार भएको विषयमा कुनै दुर्घटना भएमा नौलो हुने छैन भनिसके । कारागारमा कैदीहरु सजाय भुक्तान गरिरहेका छन् । उनीहरुको पनि मानवअधिकारको सवाल छ । असुरक्षित कारागारको संरचनाले कैदीको जीवन जोखिममा छ ।

क्षमताभन्दा तिन गुणा बढी कैदी राखिएको कारागारभित्रको दर्दनाक अवस्था कमैले देख्न पाएका छन् । कैदीबन्दीको दैनिक जीवनमाथि नै ठुलो समस्या छ । राम्रोसँग सुत्न पाउने अवस्था छैन । अझै पनि कारागारमा खाटमुनी सुत्नुपर्ने अवस्था छ । तेब्बर संख्याको कारण झापा कारागारमा बाँचिरहेका कैदी कष्टसाथ कैद भुक्तान गर्न बाध्य छन् । सजाय पनि सभ्य हुनुपर्छ । तर, झापा कारागारको दर्दनाक अवस्थाले कैदीलाई निसासिने बनाइसक्यो । खाटमा सुत्न चौकीदारलाई घुस खुवाउनु पर्ने कुरा बाहिर चर्चामा छ । यदि त्यस्तो हो भने कारागारको चौकीदार नै बदल्न आवश्यक छ ।

अहिले झापा कारागारलाई पुरानो प्रशिक्षण केन्द्र कलवलगुरीमा स्थान्तरण गर्ने गरी सिफारिस भएको खवर आइरहेको छ । यदि त्यसरी मिल्छ भने कारागार स्थान्तरणको काम बाँकी राख्नु हुन्न । कुनै पनि बेला झापा कारागारमा अप्रत्यासित घटना हुन सक्छ । जोखिमपूर्ण संरचनाले त्यतिबेला कुनै विकल्प खोज्न दिदैन । यसैले झापा कारागारको तत्काल व्यवस्थापनमा स्थानीय सरकार, सांसदहरु, प्रदेश सरकार , गृह मन्त्रालय, कारागार विभाग र प्रधानमन्त्री कार्यालयको ध्यान जान जाओस् । तेब्बर क्षमताको कारण तेब्बर नोक्सानी व्यहोर्नुभन्दा बेलैमा स्थान्तरण गर्नु राम्रो ।

प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]