बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलवार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए ।
‘कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ’, उनले भने, ‘हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हँुदैन ।’ उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए । ‘चीन तीन-चार दशक अगाडि गरिब थियो । तीन÷चार दशकमा ठूलो जनसंख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो’, उनले भने, आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।’
पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन-चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए । उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।







प्रतिक्रिया