Banner news

विरिङको फोहोर हटाऊ, फाल्नेलाई कारवाही गर

विरिङको फोहोर हटाऊ, फाल्नेलाई कारवाही गर


सम्पादकीय
बिर्तामोडमा अहिले फोहोर व्यवस्थापन कठिनाई भइरहेको छ । फोहोर व्यवस्थापनमा नागरिककै तर्फबाट अवरोध भएका कारण व्यवस्थापन पनि हुन सकेको छैन । बजार क्षेत्रको फोहोर लगेर गाउँतिर फाल्न नपाइने तर्क स्थानीयको छ । फोहोर व्यवस्थापन नभइरहेको समयमा सडक क्षेत्रमा फोहोर थुपारिएको छ । फोहोरलाई जथाभावी फाल्ने काम भएको छैन । तर, यहाँका केहि अस्पतालले अपराधपूर्ण व्यवहार गरेका छन् । अस्पतालहरुले गरेको गल्ती क्षमा योग्य पनि छैन ।

विरिङ खोलामा बिर्तामोडका तीन वटा अस्पतालको फोहोर बगाइएको भेटियो । अहिले पनि विरिङ फोहोर हालिएका काला पोकैपोकाले कालाम्मे देखिएको छ । ति पोकामा अपरेशन गर्दा काटिएका अंगहरु समेत फेला परेका छन् । सिरिन्चहरु, अस्पतालका सबै फोहोरहरु विरिङमा तैरिएको छ । अस्पतालहरुको ठुलो हेल्चेक्राइले नागरिकको स्वास्थ्यमा ठुलो खेलवाड गर्ने काम भएको छ । मानवीय जीवनसँग प्रत्यक्ष जोडिएको खोलामा यसरी फोहोर फाल्नु सामान्य अपराध होइन । दोषीलाई कानुनी कारवाही अनिवार्य छ ।

अस्पतालले आफै लगेर फोहोर फालेको होइन । अस्पतालले फोहोर फाले वापत सेवा शुल्क बुझाएको छ । फोहोर फाल्नका लागि सम्झौता गर्ने कम्पनीले लापरबाही गरेर विरिङमा फोहोर फालिदियो । अस्पतालको फोहोरको संवेदनशिलताका बारेमा जानकार हुँदाहुँदै यो हदसम्मको लापरबाही गर्न हुदैन थियो । अब, अस्पतालले आफ्नै सक्रियतामा फोहोर फाल्नेलाई फोहोर खोलाबाट बाहिर झिक्न लगाउनुपर्छ । खोलाबाट बाहिर झिकेर ठुला खाल्डाहरुमा त्यसको व्यवस्थापन गर्नुपर्छ । र, अबका दिनमा अस्पतालले फोहोर व्यवस्थापनमा लापरबाही गर्न हुदैन । फोहोर व्यवस्थापनमा लापरबाही गर्ने, आम नागरिकको जीवनमाथि खेलवाड गर्नेलाई फोहोरमैला व्यवस्थापन ऐन मार्फत कारबाही गरिनुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares