फोहोर फाल्नेलाई कारवाही गर्न प्रशासनलाई पत्र
बिर्तामोड । झापाको बिरिङ खोलामा फालिएको फोहोरबाट हैजा फैलिन सक्ने भन्दै स्थानीयबासी त्रसित भएका छन् । बिर्तामोडका अस्पतालले मानव अंगसहित अस्पतालजन्य फोहोर फोलेको फेला परेको छ । सोमवार राती उक्ता फोहोर फालिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
स्थानीय युवा अभय राजवंशीले अस्पतालले फालेका फोहोरको भिडियो गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पूर्वपश्चिम लोकमार्गदेखि ३ किलोमिटर दक्षिणमा फोहोरका पोका फालिएको छ । फोहोरका कालो पोकामा मान्छेका आन्दाभुँडीदेखि सिरिन्चसमेत फेला परेको अभियान्ता गणेश ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फोहोरका पोका खोलेर हृर्न सकिने अवस्थामा छैन ।
विरिङमा बिर्तामोडको कनकाई हस्पिटल, मनमोहन अस्पताल र बिर्तामोड आँखा अस्पतालको फोहोर भेटिएको छ ।
खालामा फोहोर फालेपछि कनकाई नगरपालिका वडा नं. ९ ले फोहोर फाल्नेलाई कारवाही गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापालाई पत्र लेख्दै वडाले कारबाहीको माग गरेको हो ।
सोमवार विरिङ खोलामा अस्पतालजन्य फोहोर फालेको भेटिएको थियो । वडाले कारवाहीका लागि लेखेको पत्रमा मनमोहन अस्पताल बिर्तामोड, कनकाई हस्पिटल बिर्तामोड र बिर्तामोड आँखा अस्पतालको फोहोर फेला परेको उल्लेख गरिएको छ ।
मानवीय जीवन, जैविक विविधता र पर्यावरणमा गम्भीर असर पुग्ने गरी गरिएको कार्यप्रति सबैले विरोध जनाएका छन् । सो कार्यमा संलग्न बारे जाँचबुझ गरी दोषी उपर कारवाहीको लागि माग गरिएको वडा नं. ९ का अध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीले जनाएका छन् ।
बिर्तामोडस्थित मनमोहन अस्पतालका सञ्चालक रोमणी भट्टराईले सार्वजनिक क्षेत्रमा फोहोर फाल्न नपठाएको जानकारी दिए । उनले फोहोर उठाउने कम्पनीले आफ्नै जग्गामा फोहोर व्यवस्थापन गर्ने सम्झौता अनुसार उठाउन दिएको बताए । भट्टराईले भने, ‘यो गम्भीर त्रुटि भएको छ । हामी पनि सोधीखोजी गरिरहेका छौं । खोलामा फोहोर फालिएकाले फाल्नेलाई सरसफाई गराउने सोच बनाएका छौं ।’
मनमोहनका कर्मचारी गुरुप्रसाद निरौलाले सुनिल मलिकलाई फोहोर उठाउने जिम्मा दिएको जानकारी दिए । मलिकले आफ्नो जग्गामा फोहोर फाल्ने सम्झौताका आधारमा मात्रै फोहोर उठाउन दिएको बताएका छन् । निरौलाले भने, मलिकले फोहोर खोलामा फाल्ने भनेर उठाएका होइनन् । यहाँ ल्याएर फालेको सुनेपछि उनलाई यसबारे सोधपुछ गरिएको बताए ।
कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले उक्त फोहोरका कारण कनकाईबासी प्रभावित हुने भएकोले तत्काल व्यवस्थापन गर्न अस्पतालहरुलाई आग्रह गरेका छन् ।







प्रतिक्रिया