Banner news

झापामा विद्यालय वर्गीकरण नगर्दा समस्या

झापामा विद्यालय वर्गीकरण नगर्दा समस्या


गगन ढकाल

बिर्तामोड । झापामा रहेका विद्यालयहरु वर्गीकरण हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाहरुले माग राखेका छन् । जिल्लामा विद्यालयको वर्गीकरण गर्न नसक्नु, शिक्षकसँग नयाँ ज्ञान, सीप र प्रविधिमैत्री बन्न बनाउन नसक्नु, स्थानीय निकायले शिक्षा क्षेत्रमा छुट्याएको बजेट न्यून हुनु लगायत धेरै समस्या देखा परेको बताइएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले प्राध्यापकहरुद्वारा अध्ययन गराएर निर्माण गरिएको शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यपत्र – २०७९ मा उक्त समस्याहरु उल्लेख गरिएका छन् ।

त्यसै गरी कार्यपत्रमा झापाका शैक्षिक क्षेत्रमा भएका राम्रा अभ्यासहरुमा प्रतिभा पहिचान र वर्ष बालकको घोषणा, क्षमता बिकास कार्यक्रम, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको बिकास र कार्यान्वयन लगायतका कुराहरुलाई समेटिएको छ ।

मंगलबार बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले सह–आयोजनामा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा मोहनप्रसाद ओली, युवराज पाण्डे र टंक प्रसाद सेढाई लगायतका पूर्व प्राध्यपकहरुले संयुक्त रुपमा तयार पारेको शैक्षिक गुणस्तर अभिबृद्धिमा सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यपत्र – २०७९ को खाका पनि सार्वजनिक गरी त्यसै उपर अन्तरक्रिया गरिएको थियो ।

उक्त कार्यपत्रको पृष्टभूमिमा शिक्षामा मौलिक हक, शिक्षामा स्थानीय तहका अधिकारहरु, शिक्षाको महत्व र उपादेयता, शिक्षा विकासका लागि विगतमा गरिएका प्रयास, वर्तमान शैक्षिक अवस्था र झापा जिल्लामा शैक्षिक क्षेत्रमा भएका राम्रा अभ्यासहरु लगायतका बुँदालाई सिमेटिएको छ । त्यसै गरी समस्या, मुद्दा तथा चुनौति र अवसरहरु शीर्षकको बुँदामा शिक्षाका क्षेत्रमा राष्ट्रियस्तरमा देखिएका मुख्य समस्याहरु, शिक्षाका क्षेत्रमा झापा जिल्लामा देखिएका मुख्य समस्याहरु र शिक्षा क्षेत्रमा देखा परेका मुख्य चुनौतीहरु लगायतका कुराहरु समेटिएको छ । त्यसै गरी त्यस कार्यपत्रमा शिक्षा क्षेत्रको गुणस्तर निर्माणका लागि सुझावहरु, अपेक्षित उपलब्धिहरु पनि प्रस्तुत गरिएको छ ।
कार्यपत्रमाथि छलफल गरी यसलाई थप परिष्कृत गरी शिक्षा मन्त्रालयलाई शिक्षा क्षेत्रको सुधारको निम्ति सहयोग गर्ने मुख्य उद्देश्य साथ यो कार्यपत्रको निमार्ण गरिएको कार्यक्रमको औचित्य माथि प्रकाश पार्ने क्रममा विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन सिवाकोटीले बताए ।

उक्त कार्यपत्रमाथि मेची बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्र अधिकारी, मेचीनगरका शिक्षा प्रमुख होमनाथ भण्डारी र गौरादहका शिक्षा प्रमुख टेकनाथ रेग्मीले सुझाव तथा टिप्पणी राखेका थिए । मुख्य टिप्पणीकर्ताको रुपमा रहेका प्राध्यापक अधिकारीले कार्यपत्रमा तथ्याङ्कको स्रोत नखुलाएको हुनाले कार्यपत्र पूर्ण विश्वाशिलो बन्न नसकेको कुरा उल्लेख गर्दै यसमा तथ्याङ्क स्रोत खुलाएर पाठकलाई सहज र कार्यपत्रलाई विश्वाशिलो बनाउन सुझाव दिएका छन् । साथै उनले यस कार्यपत्रलाई अनुसन्धानको थप पद्धतिहरुको प्रयोग गरेर सम्पादन गर्न सके यो राष्ट्रियस्तरको कार्यपत्र बन्ने बताएका छन् ।

त्यसै गरी यस अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य केआर खम्बूले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति सदनमा कुरा उठाउने र त्यसको नीति निमार्ण गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सांसद् खम्बूले नेपालको शैक्षिक बिकासको इतिहास सुनाउँदै अबको शिक्षा व्यवहारिक, सीपमूलक र रोजगारमुखी हुनुपर्ने बताएका छन् । उनी भन्छन् ‘हाम्रो पालामा पढ्नुको कारण ज्ञान प्राप्त गर्नु मात्र हुन्थ्यो तर अब त्यसरी हुन्न पढे पछि अन्तराष्ट्रिय बजारमा प्रतिस्तर्धा गर्न सक्ने हुनुपर्छ । रोजगार बनाउने गरीको गुणस्तर शिक्षा अबको आवश्यकता हो ।’
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य केआर खम्बू, गौरीगञ्ज गाउँपालिका प्रमुख फूलबती राजवंशी र समन्वय समिति उपप्रमुख शान्ता रोकाले मन्तव्य राखेका थिए । सांसद खम्बूले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति सदनमा कुरा उठाउने र त्यसको नीति निमार्ण गर्न लागिपर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु विभिन्न क्याम्पसका प्राध्यापकहरु, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष अर्जुन कुमार पाठकले गरेका थिए भने विशिष्ठ अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उप–प्रमुख शान्ता रोकाको उपस्थिति रहेको थियो । त्यसै गरी अतिथिहरुमा झापाका विभिन्न पालिकाहरुको प्रमुख, उप–प्रमुख, पालिकाका शिक्षा शासाका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरुलाई विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन रुद्र सिटौलाले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares