पोखरा । होटेल संघ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ । यति एयरलायन्सको जहाज दुर्घटना भएकोमा संघका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
विपद्का समयमा खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न संघले सरकारसँग अनुरोध गरेको छ । आन्तरिक उडानतर्फ नेपालकै ठूलो यस दुर्घटनाले मर्माहत बनाएको भन्दै विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
विदेशी टोली नेपालमा
आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ ।
क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ ।
दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । ‘बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ’, उनले भने ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।
‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ’, प्रवक्ता पौडेलले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ ।
आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।







प्रतिक्रिया