काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले तिहारमा भाइटीकाको दिन आज काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यस्तै, प्रधान कार्यालय स्वयम्भुदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानो ठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिनेछ ।
दशैँमा पनि सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।







प्रतिक्रिया