Banner news

उपाध्यक्षमा बस्तुगत संघहरुको साझा उम्मेदवार बने हेमराज ढकाल

उपाध्यक्षमा बस्तुगत संघहरुको साझा उम्मेदवार बने हेमराज ढकाल


बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत संघतर्फको उपाध्यक्ष पदका उम्मेद्वार हेमराज ढकाललाई ‘साझा उम्मेद्वार’ का रुपमा घोषणा गरिएको छ । झापाका उद्योगी व्यवसायीले ढकाललाई साझा उम्मेदवार बनाएको घोषणा गरेका हुन् ।

ढकाल महासंघको केन्द्रीय सदस्य हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उपाध्यक्ष पदको सशक्त दावेदार बनेका उनी भद्रपुर निवासी हुन् । वाणिज्य महासंघको चैत २८ र २९ गते काठमाडौंमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

महासंघको अध्यक्ष पदमा चण्डीराज ढकाल निर्वाचित भएको लामो अवधिपश्चात पहिलोपल्ट झापाका उद्यमीले उपल्लो तहको जिम्मेवारीमा उम्मेद्वारी दिएको पहिलोपल्ट भएकाले ढकाललाई जिताउन झापाका उद्योगी व्यवसायीहरु एकजुट भएर लागेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

सो अवसरमा नेपाल चिया उत्पादक संघ, नेपाल इँटा महासंघ, नेपाल भेनियर महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अलैची व्यवसायी महासंघ, झापा उद्योग संघ र नेपाल अदुवा व्यवसायी संघले उपाध्यक्षका उम्मेद्वार ढकाल बस्तुगत संघहरुको साझा उम्मेद्वार भएको भन्दै जिताउने अभियानमा ऐक्यवद्धता जनाएका थिए ।
नेपाल चिया उत्पादन संघको केन्द्रीय समितिको पूर्ण बैठकले झापाका चिया उद्यमी समेत रहेका ढकाललाई महासंघको उपाध्यक्ष (बस्तुगततर्फ) पदको सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको थियो ।

संघका अध्यक्ष अग्रवालले चिया उत्पादक तथा व्यवसायीहरुको समस्या समाधानका लागि सरकारसम्म बुलन्द रुपमा आवाज पुर्याउन सक्ने एकमात्र नेता ढकाल भएको बताए ।

नेपालमा रहेका १२३ वटा बस्तुगत संघले ढकाललाई जिताउने अभियानमा समर्थन जनाएको नेपाल भेनियर महासंघका महासचिव दिपक पाण्डेले दावी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उपाध्यक्ष पदमा कोशी पहिलोपल्ट झापाको दावी आएको बताउँदै उनलाई जिताउने अभियानमा ऐक्यवद्धता व्यक्त गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य ताराप्रसाद घिमिरे लगायतले ऐक्यवद्धता मन्तब्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares