बिर्तामोड । सुशासनमा चलिरहेका सहकारीहरुको संरक्षण गर्ने भन्दै झापामा कोअपरेटिभ एलायन्स गठन भएपछि जिल्लामा हलचल मच्चिएको छ । आइतवार १४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेसँगै एलायन्सबारे बाहिर आएको हो ।
सहकारी संस्थाहरुको जिल्ला सहकारी संघ हुँदाहुँदै एलायन्स गठन हुनुले संघको विकल्प खोजिएको कतिपयले आरोप लगाएका छन् । झापा जिल्ला सहकारी संघले सहकारीको क्षेत्रमा गर्नुपर्ने धेरै काम गर्न नसकेको भन्दै एलायन्स खडा गरिएको छ । एलायन्सको तर्फबाट अवधारण पत्र सार्वजनिक गर्ने क्रममा संघभित्रै समस्या देखिएर एलायन्स बनाउनु परेको आसय व्यक्त गरिएको थियो ।
सुशासनमा चलिरहेका सहकारी संस्थाहरुलाई अवधारणा पत्रमा उल्लेखित १४ बुँदा मान्य भए वा मान्न तयार हुनेहरु संठगित हुन खुला गरिने बताइएको छ । जसको नेतृत्वमा अहिले एनएमसीका अध्यक्ष रामचन्तद्र उप्रेती रहेका छन् । अर्को बैठक सहारामा बस्ने निश्चित भएको जानकारी गराइएको छ । सो बैठकमा सहाराका अध्यक्षले अध्यक्षता गर्नेछन् । जहाँ–जहाँ बैठक बस्दै जान्छ, त्यहाँको अध्यक्षले अध्यक्षता गर्ने बुझिएको छ । एलायन्सका अध्यक्ष उप्रेतीले यो संगठन सधैंका लागि नभई समस्या समाधान गर्ने समयसम्मका लागि भएको बताए । उप्रेती लगायतले संघको तर्फबाट पर्याप्त काम नभएपछि एलायन्स बनाउन बाध्य भएको बताएका थिए ।
सहकारी विरुद्धको अभियानलाई निस्तेज पार्ने भन्दै झापामा हालै गठित ‘कोअपरेटिभ एलाइन्स अफ झापा’ ले सहकारीप्रति नकारात्मक धारणा बढ्न सक्ने बताइएको छ । सहकारी ऐनमा व्यवस्था नै नभएको संस्था गठन गरिनुले सहकारीप्रति नकारात्मक धारणा बढ्न सक्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारीले बताएका छन् ।
सञ्चालक अधिकारीले यस्तो अवैध गतिविधीले सहकारीप्रति आम मानिसमा नकारात्मक धारणा बन्न सक्ने बताएका हुन् । अधिकारीले कोअपरेटिभ एलाइन्स अफ झापा गठन भएको आफुले सुनेको भन्दै यसले सहकारीप्रति नेगेटिभ भाइरल बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘संघ सहकारीप्रति आम विश्वास कसरी बढाउने भनेर लागिरहेको बेलामा यसले अविश्वास सिर्जना गर्न सक्ने भयो,’ उनले भने, ‘एउटा त साना सहकारीहरु डराउने भए हामी त त्यसमा सहभागी पनि भइएन भन्ने अर्को के हो भने यो खालको एलायन्स बनाउन भेला बैठकहरु आयोजना गर्दा साँच्चिकै सहकारीहरु संकटमा छन् की क्याहो भन्ने बुझ्ने भए पब्लिकले ।’ यसले साँच्चै सहकारीमा समस्या आयो कि क्याहो भनेर बचत फिर्ता बढ्न सक्ने भन्दै त्यसमा ध्यान दिनुपर्ने अधिकारीले बताए । उनले या ती संस्थाहरुमा समस्या आइसक्यो वा आउने चरणमा छन् आफूले बुझ्न नसकेको उनको भनाई छ ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले एलायन्स गठन गर्ने बिषय सहकारी ऐनमा उल्लेख नभएकाले एलायन्स लुज फोरमको रुपमा गठन गरिएको हुनसक्ने बताए । छलफल गर्न सल्लाह गर्न संगठन कै रुप दिन जरुरी नभएको भन्दै ढकालले संगठन बनाएर सदस्य विस्तार गर्दै कार्यक्रम गर्नेसम्मको कुरा हो भने त्यो गलत भएको बताए ।
सहकारीको राजनीतिमा कसरी स्पेस लिन सकिन्छ भन्ने अनुमान गर्न सकिने भन्दै ढकालले निर्वाचनको समयदेखि नै केहि साथीहरुसँग असन्तुष्टि भएको तर फेरि अर्को निर्वाचन पनि आउने भन्दै धैर्य गर्नुपर्ने बताए । जिल्ला सहकारी संघले काम गरेन भन्ने केहि साथीहरुको गुनासो सुनिएको तर यो सालमात्र संघको आफ्नै खर्चमा करिब १ हजार सहकारीकर्मीको सहभागितामा विज्ञ ल्याएर गोष्ठी सम्पन्न गरेको अध्यक्ष ढकालले जानकारी दिए । अभियान बलियो बनाएर जानुको साटो यसरी छुट्टाछुट्टै समूह बनाएर जाँदा अहिलेको समस्यामा केन्द्रित हुन नसकिने उनको भनाई छ ।
एलायन्स टाउको बिनाको मान्छे
प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले कोअपरेटिभ एलायन्स अफ झापालाई ऐन विपरित गठन भएकोले टाउको बिनाको मान्छे भन्दै मुर्कुटाको संज्ञा दिएका छन् । जिल्ला सहकारी संघ वैधानिक फोरम भएको र शुद्धिकरण थाल्ने भए संघ मार्फत थालिनुपर्नेमा उनले जोड दिए । कुनै संस्थामा समस्या भए संघ मार्फत समाधानमा लाग्नु पर्ने उनको भनाई छ । उनले वैधानिक संस्था हुँदा हुँदै विकल्प खोजिनु दुखद भएको बताएका छन् ।
संघलाई दबाब दिन एलायन्स
सहकारी समस्या समाधानका लागि सहकारीका संघसंस्थाले सहकारी अभियानले कतिपय बिषयमा आफूलाई सच्याएर समाधान गर्नुपर्ने र कतिपय बिषयमा संगठित भएर प्रतिवाद गर्नुपर्ने सहकारी अभियान्ता तथा एलायन्सका सदस्य रामचन्द्र उप्रेतीले बताए । ‘सहकारीबाट लगेको ऋण मान्छेले नतिर्ने, आन्दोलन गर्ने, कर्मचारीलाई घरमा बोलाएर कालोमोसो दल्ने कुटेर पठाउने समस्या बढेको छ तर अभियान बोल्दैन, सहकारीका आठ वटा संघ छन्, जिल्ला संघ छ, कोनी के छन् कोहि चुइँक्क बोल्दैन,’ उनले भने, ‘हामी सहकारी भित्रपनि बेतिथीहरुको चाङ छ, त्यसलाई सच्याउनु पर्छ, करेक्सन हुनुपर्छ, हामी सच्चिन्छौँ यो बेठिक हो । जजसले कमजोरी गरेका छौँ तिनीहरुले सच्याउने तिर लागौँ, यो यो काम गरौँ भन्ने हाम्रो कुरा आएन ।’
बचत संकलन नभएपछि ढिलो चाँडो सबै समस्यामा पर्न सक्छन् । त्यो बेलामा सबै एक ठाउँमा उभिएर आवाज बोलौँ, सहकारीहरुले गलत गरेका छैनन्, लगानी भएको पैसा उठेको छैन तर त्यो डुब्दैन संस्थाले तिर्छ भनेर भन्न कोहि एक ठाउँमा नउभिएको उप्रेतीको गुनासो छ । उनले जुन दिन यो काम संघले गर्छ त्यो दिन एलायन्सको काम सकिने प्रष्ट्याए । एलायन्स लुज फोरमको रुपमा गठन भएको र जुनदिन वैधानिक रुपमा जिल्ला संघले ती काम गर्ने सामथ्र्य राख्छ त्यो दिन यसको काम नहुने उप्रेतीले बताए ।
साना सहकारीहरुलाई एलायन्समा किन सामेल नगराइएको भन्ने प्रश्नमा उप्रेतीले साना सहकारीपनि समेटिएको र आफ्ना गतिविधी पारदर्शी ढंगबाट सञ्चालन गर्ने संस्थालाई समेट्दै लैजाने बताए ।
एलायन्समा करिव एक दर्जन सहकारी आवद्ध भएका छन् । सहकारीको नीति, नियममा रहेका संस्थाहरु जोडिन सक्ने बताइएको छ ।







प्रतिक्रिया