मुख्य समाचार

इलाममा जनप्रतिनिधिको पारिश्रमिकबाट ‘लम्पी स्किन डिजिज’ को खोप खरिद

इलाममा जनप्रतिनिधिको पारिश्रमिकबाट ‘लम्पी स्किन डिजिज’ को खोप खरिद


इलाम – इलाममा ‘लम्पी स्किन डिजिज’ फैलिएपछि जिल्लाका किसानले पालेका गाई बिरामी पर्दै मर्न थालेका छन् । दूध बेचेर खर्च चलाउन र बालबच्चा पढाउँदै आएका किसान परिवार गाईमा देखिएको रोगका कारण समस्यामा छन् ।

लैनो गाई मर्न थालेपछि चिन्तित किसानलाई केही राहत मिल्ने भएको छ । इलाम नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक गाईको खोप खरिदमा नै लगाउने भएका छन् । उनीहरूले वैशाख महिना वापतको मासिक पारिश्रमिक जम्मा गर्ने बताएका छन् ।

नगरपालिकाले नगरको १२ वटै वडामा लम्पी स्किन डिजिजको खोप लगाउन सुरु गरेको छ । शुक्रबार इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि खोप लगाउने निणर्य गरेको थियो । सोहीअनुसार खोप लगाउन सुरु गरिएको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई समस्या भएको भन्ने जानकारी प्राप्त भएपछि नगरभित्रका किसानले पालेका गाईलाई खोप लगाउन सुरु गरिएको हो ।

यसअघि नगरउपप्रमुख विष्णु दाहाल लिम्बूको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नका लागि नगरका सबै जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो । प्राप्त जानकारीअनुसार पहिलो चरणमा एक सय ६९ भायल खोप आइपुगेकाले करिब चार हजार सात सय २५ गाईवस्तुलाई खोप लगाइनेछ । दोस्रो चरणमा करिब पाँच हजार गाईवस्तुलाई खोप लगाइनेछ । यो खोप लम्पी स्किन डिजिजबाट सङ्क्रमित भएको पशुलाई लगाउने नभई उक्त रोग प्रतिरोधी खोप भएको नगर पशु स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares