बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गर्ने अन्तिम तयारी गरेको छ । बैशाख २२ सम्मको समय सकिएपछि नगरपालिकाले जुनसुकै बेला ठाउँ खाली गराउन सक्छ । ०७७ सालदेखि नगरपालिकाले घर, टहरा र संरचना खाली गर्न भने पनि व्यापारी अहिलेसम्म हटेका छैनन् ।
बुधबारे हटिया (देवि हाट) का व्यापारीहरुले विकल्पका नाममा नगरको स्वामित्वमा रहेको बजार छोड्न मानिरहेका छैनन् । अर्को वैकल्पिक व्यवस्था नभएसम्म ठाउँ नछोड्ने अडानमा बसेका व्यापारीहरुका लागि बिर्तामोडमा ठाउँ खोज्ने प्रयास नभएको भने होइन ।
निजी जमिन, व्यवसायिक मार्केटहरुमा व्यापारीले चित्त बुझाउन सकेनन् । पछिल्लो समय सरकारी सम्पत्तिमा समेत व्यापारीले अटेरी गरेको देखेपछि निजी जमिनदारहरु भने हच्किएका छन् । जसका कारण सहज समाधान हुन सकेन ।
बुधबारे हटियामा रहेका व्यापारीमध्ये एकतिहाई व्यापारीमात्र नगरको सम्झौतामा बसेका छन् । बाँकी व्यापारीहरुले अतिक्रमण गरेर बसेको नगरपालिकाले जनाएको छ । व्यवसाय गरेर बस्ने ठाउँमा घर नै बनाएर समेत बसेको पाइएको छ ।
विकल्पका रुपमा हेरिएको बिर्तामोडस्थित सिटी सेन्टर मुख्य समाधानको उपाय हुन सक्ने अधिकांशको भनाई छ । सम्झौता गरेर बसेका व्यापारीहरुलाई विकल्प खोज्न नगरपालिकाले समय प्रदान समेत गरेको थियो । सोही समयमा सिटी सेन्टर एउटा विकल्प हुने धेरैले सूझाव दिए ।

सिटी सेन्टरका सञ्चालक उमेश राउतले १२५ जना भन्दा बढी व्यवसायीलाई सिटी सेन्टरले व्यवस्थापन गर्न सक्ने बताएका छन् । उनले खाली रहेका सटरदेखि चिल्ड्रेन पार्कसम्ममा व्यापारीहरुलाई व्यवस्थापन गर्न सक्ने बताए । राउतका अनुसार बुधबारे हटियाका व्यापारीले अहिले प्रयोग गरिरहेको सटर अनुसारकै ठाउँ व्यवस्थापन गर्न सकिन्छ । बुधबार–बुधबार उहाँहरुलाई अगाडिको भागमा बजार लगाइदिने व्यवस्था समेत मिलाइदिने राउतको तयारी छ । उहाँहरुले चाहानुहुन्छ भने, तत्काल व्यवस्थापन गर्न सक्छौं । ३५ सय देखि ५ हजारसम्म भाडा व्यवस्थापन गर्न सकिन्छ ।
गत २२ गते पत्रकार सम्मेलनका क्रममा व्यापारीले सिटी सेन्टरमा व्यापार चल्दैन भनेका थिए । सोही विषयमा राउतसँग जिज्ञासा राख्दा उनले भने, त्यो चाँही सत्य हो । तर, व्यापारीले भन्न सक्नुपर्छ कि अहिले चलेको चै कहाँ छ ? कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय क्षेत्र नै चौपट भएको राउतको भनाई छ । उनले भने, उहाँहरुलाई अहिले ठाउँ चाहिएको हो वा चल्ने ठाउँ चाहिएको हो ? हामीले त उहाँहरुलाई तत्कालका लागि विकल्प दिएका हौं, व्यापार ठाउँले होइन । व्यापार सीपले चल्ने हो । सिटी सेन्टरमा अधिकांश पसल चलेका छन् । बिर्तामोडमा हजारौं पसल छन्, सबै चलेका छन् त ? उनले प्रश्न गरे ।
सिटी सेन्टरमा ९-९ साइजका कोठा उपलब्ध गराउन सक्ने राउतको भनाई छ । संरचना निर्माणका हिसावले सबै तयारी अवस्था छ । सुरक्षाका लागि सीसी क्यामेरा, गार्ड देखि सुविधा सम्पन्न शौचालयहरुको व्यवस्था रहेको राउतले जानकारी दिए ।
व्यवस्थापन मिलाउन सक्ने भएपछि बुधबारे हटियाका केहि व्यापारीहरु सिटी सेन्टर गएर व्यवसायिक अवस्था बारे जानकारी लिएको राउतको भनाई छ । उनले भने, ‘उहाँहरुले विकल्प खोजेकै हो भने ठाउँ दिन तयार छौं ।’
बिर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सिटी सेन्टरले बुधबारे हटियाका व्यापारीहरुलाई दिएको भाडा सुविधा जायज भएको बताएका छन् । ३५ सय देखि ५ हजार भाडा ठिकै भएको न्यौपानेको भनाई छ । उनका अनुसार सिटी सेन्टरले १ लाख एड्भान्स भनेको कुरा व्यवसायीले सुन्नै मानेनन् ।
यता, अर्को विकल्पका रुपमा अतिथी सदनलाई पनि लिइएको छ । सिटी सेन्टरमा नआँटेका व्यापारीलाई अतिथी सदनमा सेल लगाउने व्यवस्था मिलाउन सकिने धेरैको सूझाव छ । अतिथी सदनमा व्यवस्थापन गर्न सकिन्छ भन्ने जिज्ञासामा न्यापानेले भने, म कार्यकारी व्यक्ति होइन । यस विषयमा अध्यक्षलाई नै सोध्नुपर्छ ।
नगरपालिकाले नगर विकास कोषको लगानीमा १ अर्बको बहुतले व्यवसायिक भवन निर्माण गर्दैछ । त्यसका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्न ठाउँ खाली गर्नुपर्नेछ । नगर विकास कोषले नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत रहेर देशभर विकास निर्माणको काम गरिरहेको छ । नगर विकासका लागि कोषले खानेपानी आयोजना, व्यवसायिक भवन, कृषि मण्डी, आधुनिक बसपार्क, स्थानीय उत्पादन केन्द्र, सभा हल लगायत निर्माण गदै आएको छ ।
शहरी पूर्वाधार विकास आयोजनाहरुमा कोषले ऋण तथा अनुदान लगानी गर्दै दीगो पूर्वाधार विकासमा काम गर्ने गरेको छ ।







प्रतिक्रिया