Banner news

लम्पी स्किनले गौरादह र बाह्रदशीका पशु धेरै प्रभावित

लम्पी स्किनले गौरादह र बाह्रदशीका पशु धेरै प्रभावित


झापा । झापामा पछिल्लो समय पशुचौपायमा लम्पी स्किन रोग तीब्र गतिमा फैलिएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा यो रोगको जोखिम बढेर गएको पशु विज्ञ केन्द्र झापाले जनाएको छ ।

पशु विज्ञ केन्द्र झापामा सूचना अधिकारी गणेश भट्टराईले जिल्लामा यस रोगको सबैभन्दा धेरै प्रभाव गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा परेको बताएका छन् । यसैगरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका क्षेत्रमा चाहिँ यसको प्रभाव कम रहेको उनले बताए ।

सूचना अधिकारी भट्टराईले यो रोग कोरोनासँगै आएको तर, पछिल्लो समय मात्र यसले महामारीको रुप लिएकोे बताएका छन् । रोग लागेको पशुहरुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण रहेको उनले बताएका छन् । साथै यस रोग लागेको पशुहरुको खुट्टा सुन्निने, मासु झर्ने र नली खुट्टा मात्र बाँकी रहने गरेको पनि पाइएको उनले बताए ।

अघिल्लो वर्ष असार, साउन र भदौमा बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा यस रोगको प्रभाव देखिदा विज्ञ केन्द्र झापाले आकस्मिक रोग नियन्त्रण शिविर सञ्चालन गरेको तर यस वर्ष बजेट अभावले सो काम गर्न नसकोको सूचना अधिकारी भट्टराईले जानकारी दिए । उनले हाल जिल्लाका केही नीजि भेटनरी अस्पतालहरुमा यस रोगको भ्याक्सिन उपलब्ध भएको बताएका छन् । उनले उक्त भ्याक्सिन रोग लागेको पशुलाई प्रयोग गर्न नमिल्ने समेत बताएका छन् । रोगी पशु रहेको ५ किलोमिटर वरपरका वस्तुहरुमा पनि सो भ्याक्सिन प्रयोग गर्न नमिल्ने उनले बताए । सो भ्याक्सिन रोग नलागेका वस्तुहरुलाई रोग लाग्न नदिन मात्र प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

जिल्लाकै सबैभन्दा प्रभावित क्षेत्र गौरादह नगरपालिका क्षेत्रमा यसका रोकथामका निम्ति नगरपालिकाले गाउँ–गाउँमा विज्ञ पठाएर निशूल्क रुपमा पशु उपचार गरिरहेको पालिका प्रमुख छत्रपती सुवेदीले बताएका छन् । उनले यसको भ्याक्सिनको प्रयोग गर्न नमिल्ने भएका कारण औषधीहरुको प्रयोग गरेर रोकथाम गर्न प्रयास गरिरहेको बताएका छन् ।

यसै गरी बाह्रदशी गाउँपालिकाका पशु शाखा प्रमुख देव कुमार यादवले बाह्रदशीमा करिब ३० वटा पशुहरु मरिसकेको बताएका छन् । उनले यसको रोकथामका निम्ति हाल सामान्य औषधी उपचार मात्र भइरहेको बताएका छन् । उनले बजेटको अभावले यसमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । आउँदो आर्थिक वर्षबाट बजेट व्यवस्थापन गरेर रोकथामको कामलाई तीब्रता दिने उनले बताए ।

शेयर गर्नुहोस :

0
Shares