झापा

अनेरास्ववियु झापाले मनायो स्थापना दिवस

अनेरास्ववियु झापाले मनायो स्थापना दिवस


बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापा जिल्ला कमिटीले संगठनको ५९औं स्थापना दिवस मनाएको छ । अनेरास्ववियु झापाले चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनमा विभिन्न क्याम्पसहरुमा निर्वाचितहरुलाई सम्मान तथा प्रशिक्षण गरि स्थापना दिवस मनाएको हो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले गरेका थिए । यसैगरी विशिष्ट अतिथिका रुपमा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की र सचिव शिव ढुङ्गेलको उपस्थिति रहेको थियो भने अतिथिहरुमा अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताल्मी, केन्द्रीय सदस्य रोशन भट्टराई, बिहानी पंगेनी, कोशी प्रदेश सहसंयोजक दुर्गा धमला, प्रदेश सदस्य लक्ष्मी न्यौपानेको उपस्थिति थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव असारु राजवंशी, एमाले जिल्ला सचिवालय सदस्य टिकाराम मंग्राती, कार्यालय सचिव छबिलाल विश्वकर्मा, जिल्ला सदस्य समर्पण खतिवडा लगायतको सहभागिता रहेको थियो ।

स्ववियुका नवनिर्वाचित विद्यार्थी प्रतिनिहरुलाई एमाले जिल्ला अध्यक्ष दिपक कार्की, सचिव शिव ढुङ्गेल, सचिवालय सदस्य टिकाराम मंग्राती, अनेरास्वयिु सचिव मनोज ताम्ली र कोशी प्रदेश सहसंयोजक दुर्गा धमलाले प्रशिक्षित गराएका थिए । उनीहरुले अनेरास्ववियु अग्रणी विद्यार्थी संगठन भएकाले यसका नेता कार्यकर्ताहरु अध्ययनशील र प्रगतिशील हुनुपर्ने बताए । उनीहरुले अनेरास्ववियुको बिगतलाई स्मरण गराउँदै आगामी दिनमा शैक्षिक सुधारका निम्ति शैक्षिक माफियाका विरुद्ध लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले भ्रष्टाचारी कुनै दलका नेता नहुने बताएका छन् । उनले अनेरास्ववियु भ्रष्टाचारीको सहयोगी नहुने र सदैव भ्रष्टाचारको विरुद्ध खबरदारी गर्ने बताए । उनले भ्रष्टाचारको सबै फाइल खोल्न माग समेत गरेका छन् ।

अध्यक्ष बडालले अब विद्यार्थी आन्दोलन व्यवस्था परिवर्तनका निम्ति भन्दा पनि शैक्षिक परिवर्तनका निम्ति हुने बताएका छन् । उनले अब शैक्षिक माफियाका विरुद्धमा लाग्न पर्ने धारणा राखे । उनी भन्छन्, ‘संविधानले कक्षा १२ सम्म निशूल्क शिक्षा भनेको छ । तर, ११–१२ को शिक्षामा लगानी शून्य छ । सरकार आफैंले ११–१२ को शिक्षा नीतिगत भ्रटाचार गर्न दिएको छ । अब अनेरास्ववियु संविधानको यो व्यवस्थालाई पूर्णरुपले लागू गराउन लागि पर्नेछ ।’

उनी भन्छन्, ‘स्थानीय सरकारसँग समेत समन्वय गरेर शैक्षिक क्षेत्रको सुधार गर्न जरुरी छ ।’ उनले जहाँ शिक्षा त्यहाँ अनेरास्ववियु, जहाँ सरकार त्यहाँ प्रतिपक्षमा अनेरास्ववियु मुल नाराका साथ सबै अनेरास्ववियुका कार्यकर्ताहरुलाई शैक्षिक परिर्वतनका निम्ति लागि पर्न निर्देशन पनि दिएका छन् ।

यस कार्यक्रममा चर्चित जनवादी गायक बद्री बंगेनीको प्रस्तुती समेत रहेको थियो । अनेरास्ववियु झापाका सचिव नारायण पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बलराम गिरीले स्वागत मन्तव्य राखेका थिए ।

अनेरास्ववियु झापाले स्ववियुका प्रतिनिधिहरुलाई सम्मान र प्रशिक्षण गर्ने कार्यक्रम कै बीचमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीमा निर्वाचित झापाका युवा नेताहरुलाई समेत सम्मान गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares