झापा । झापाको शिवसताक्षी नगरपालिका–४ मा निर्माण भइरहेको सौर्य उर्जा परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । झापा इनर्जीले निर्माण गरिरहेको उक्त परियोजनाको काम ७० प्रतिशत पुरा भएको सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।
नेपालकै ठुलो र नमूना परियोजनाका रुपमा रहेको सोलार उर्जा उत्पादन परियोजना अन्तिम चरणमा पुगेको हो । झापा इनर्जीले असोज १ गतेबाट सौर्य उर्जा उत्पादन गर्ने जनाएको छ । असारबाट उत्पादन थाल्ने तयारी गरिरहेको परियोजनाले उत्पादनको समय सारेको छ ।

साढे तीन वर्षअघि देखि निर्माण सुरु गरिएको परियोजनामा अहिले प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको छ । उक्त कार्य ९५ प्रतिशत सकिएको छ, भट्टराईले भने – अब प्यानल राख्ने काम मात्रै बाँकी छ ।
२२ विगा जमिनमा उक्त परियोजना सञ्चालनमा रहेको छ । कोभिडका कारण केहि ढिलाई भएको बताउँदै सञ्चालक भट्टराईले ७९ करोडको लागतमा परियोजना निर्माण भइरहेको जानकारी दिए । ६० करोड बैंक मार्फत कर्जा लिइएको उक्त परियोजनामा २० करोड शेयरदाताहरुबाट लगानी गरिएको छ । झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो ।
असार मसान्तसम्म निर्माण सम्पन्न गरेर उर्जा उत्पादन तयारी गरिएको थियो, भट्टराईले भने – सामान आयातको प्रक्रियामा ढिलाई भएकाले थप एक महिना पछाडि धकेलिएको छ ।
परियोजनाका इन्जिनियर केशव चापागाईले प्यानल स्टेन राख्ने काम लगभग सकिएको जानकारी दिए । उनका अनुसार अब सोलार प्यानल जडान मात्रै बाँकी छ । त्यो काम धमाधम हुन्छ । उत्पादित उर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरु समेत तयारी भइसकेको छ ।
इन्जिनियर चापागाईका अनुसार २१ हजार ८४० थान प्यानल स्टेन (एमएमएस) जडान भइसकेको छ । सो स्टेनमा १ टेवल बराबर २८ प्यानलको टेवल बनाइने छ भने आधा टेवलका लागि १४ वटा सोलार प्यानल जडान गरिनेछ ।
इनर्जीका सञ्चालक नारायण पोखरेलले परियोजना अन्तिम चरणमा पुगेकाले अब उत्पादनको समय नजिक आएको जानकारी दिए । उनले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपालमै उर्जाको क्षेत्रमा विशेष योगदान हुने प्रतिक्रिया दिएका छन् ।
यस्तै, सञ्चालक पवित्रा महतारा प्रसाईले उक्त परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गरिने बताएकी छन् । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाई छ । पर्यटकहरुलाई घुमफिर गर्न मिल्ने गरि परियोजनाको परिकल्पना गरिएको छ, उनले भनिन् । सो क्षेत्रमा दुई वटा सेल्फी टावर समेत निर्माण गरिने बिर्तामोड नगर प्रमुख प्रसाईको भनाई छ ।
झापा इनर्जीको उक्त परियोजनामा अहिले दैनिक ४० जनाभन्दा बढिले रोजगारी पाइरहेका छन् भने उत्पादन पश्चात १० देखि १५ जनाले रोजगारी पाउने बताइएको छ ।







प्रतिक्रिया