मुख्य समाचार

५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

५० प्रतिशत अनुदानमा धानको बिउ वितरण


सागर गौतम

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा- २ मा कृषकलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ ।
संस्थाको सहजीकरण र व्यवस्थापनमा रामधान, सम्वा मुसुली, रन्जित धान सहित ३ सय घरधुरी कृषकलाई वितरण गरी गरिएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले बताए । कृषकलाई व्यवसायिक खेतीमा हौसला दिन र आत्मनिर्भर बनाउने उदेश्यले अर्जुनधारा नगरपालिका वडा –२ को ५० प्रतिशत अनुदानमा वितरण गरिएको दंगालले जानकारी दिए ।

कृषि पेसामा लाग्ने कृषकहरूलाई साना किसान सहकारी संस्थाले विभिन्न संस्थासँग सहकार्य गर्दै सहयोग गरिरहेको बताए । बिउ बितरण कार्यक्रम अर्जुनधारा वडा–२ को कार्यालय अगाडि सम्पन्न भइसकेको र वडा–३ मा भने जेष्ठ ११ गतेदेखि वितरण हुने संस्थाले जनाएको छ ।

आ.व. २०७९-०८० को विनियोजित ४ लाख रुपैंयाको बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जातका बिउ कृषकलाई वितरण गरिएको हो । प्रतिकठ्ठा १ के.जी. को दरले कृषकले माग गरेअनुरुप बिउ उपलब्ध गराइएको अर्जुनधारा नगरपालिका वडा–२ अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए । उन्नत जातको बिउ वितरण कार्यक्रमलाई वडाले आगामी दिनमा प्राथमिकतामा राखेँर काम गर्ने श्रेष्ठले बताएका छन् ।

साना किसान कृषि सहकारी संस्था अर्जुनधारा–३ खुदुनावारीले कृषकको मागका आधारमा उत्पादन बढाउन बिउ बिजन, आधुनिक उपकरणहरू विभिन्न समयमा वितरण गर्दै आएको मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares