मुख्य समाचार

बिर्तामोडमा झण्डोत्तलन

बिर्तामोडमा झण्डोत्तलन


बिर्तामोड । बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच झण्डोत्तलन गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, विभिन्न शाखाका कर्मचारी र नगर प्रहरीद्वारा सहिदको तस्वीरमा माल्यार्पण गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले देशमा बोल्न पाउने अधिकार गणतन्त्रले स्थापित गरेको धारणा राखेकी थिइन् । सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कयौँको कोख र सिउँदो रित्तिएर ल्याएको गणतन्त्रलाई सहि ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । विधिको शासनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताउँदै उनले जाति, पार्टी भन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने बताइन् ।

यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले राजनीतिक अस्थिरताको कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले गरिब र सर्वहारा वर्गलाई गणतन्त्रले नछोएको धारणा राख्दै राष्ट्रिय स्तरबाटै नीति नियम बनाएर अघि बढ्नु पर्ने बताए । राष्ट्रहितका काममा जनप्रतिनिधि र कर्मचारी जुट्नु पर्ने बताउँदै उनले गणतन्त्रले सबैको बराबरी हैसियत कायम गर्नुपर्ने बताए । गणतन्त्र दिवश विशेष कार्यक्रमलाई नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares