सम्पादकीय
ठुलो सहकारीमध्येको एक झापाको एनएमसीले तीन दशकपछि नेतृत्व परिवर्तन गरेर नयाँ अभ्यासको थालनी गरेको छ । ३० वर्ष एउटै व्यक्तिको नेतृत्व रहेको एनएमसीमा चमत्कार नै भयो । वर्तमान आवश्यकता र नयाँ नेतृत्वको भूमिका आवश्यक भएकाले एनएमसीले नेतृत्व परिवर्तन गरेको हुनुपर्छ । लामो समयसम्म एउटै व्यक्तिको नेतृत्व हुनु बेठिक पनि हो । संस्थाको उन्नयनमा नयाँ नेतृत्वबाट नयाँ रचनात्मक काम हुन सक्ने अपेक्षा हुन्छ । यो एनएमसीको विषय मात्र होइन, तमाम सहकारीहरुमा उस्तै अभ्यास छ । एउटै व्यक्ति वर्षौसम्म अध्यक्षमा रहिरहने अभ्यासलाई सदस्यहरुले तोडेर जानुपर्छ । जुन काम एनएमसीले गरेर देखायो ।
वर्षौसम्म एउटै व्यक्ति अध्यक्ष भइरहँदा विग्रिजाने र नेतृत्व परिवर्तन हुँदा सप्रिहाल्ने भन्ने पनि होइन । यि दुवै मान्यता स्थापित भएको पाइदैन । जहाँ सहकारी नीतिको मुल्य मान्यता र आर्थिक अनुशासन हुन्छ । त्यस प्रकारका सहकारीमा समस्याहरु कम हुने गर्छन् । अहिले अधिकांश सहकारी संस्थाहरुमा समस्याको चाङ छ । कतिपय सहकारीहरुले कार्यालय बन्द गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ । कार्यालय बन्द गर्नुपर्ने परिस्थितिको निर्माण बजारसँग मात्रै दोषी छैन । यसैले सहकारीहरुमा नेतृत्व परिवर्तन हुनुपर्छ ।
नयाँ नेतृत्वले नयाँ ढंगबाट संस्थाको सञ्चालन गर्न सक्छ । नयाँ व्यक्तिमा नयाँ सोच र योजना हुन्छ । एउटै व्यक्ति निरन्तर अध्यक्ष भइरहेको छ भने संस्थाको आन्तरिक कारोवार र लेखा प्रणाली राम्रोसँग अध्ययन गर्न आवश्यक छ । सञ्चालक सबै सदस्यहरुले संस्थाको आर्थिक अवस्थाबारे जानकारी लिनुपर्छ । लामो समय अध्यक्ष बन्न दिन पनि हुदैन । सबैको साझा संस्था भएकाले अध्यक्षका लागि अन्य सञ्चालकहरुले पनि क्षमता विकास गरेर दावी गर्नुपर्छ । सहकारीमा अर्को समस्या भनेको परिवारवाद पनि हो । धेरै सहकारीहरु परिवारभित्रै घुमिरहेको छ । यो पनि सहकारीहरु समस्यामा पर्नुको एउटा आधार मान्न सकिन्छ । यसैले सहकारीमा धेरै कमजोरी पक्षमध्ये नेतृत्व परिवर्तन नहुनु अर्को ठुलो समस्या हो । अब, हरेक सहकारी संस्थाहरुले अध्यक्ष परिवर्तन गर्ने सन्दर्भमा ख्याल गर्नुपर्ने देखिन्छ ।







प्रतिक्रिया