विराटनगर । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई छाड्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङमा दिउँसो भएको वार्तामा आगजनी र तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमति भएको भएपछि उनीहरू रिहा हुने भएका हुन् । नामकरणपछि जारी पहिचान पक्षधरको आन्दोलनको विषयलाई लिएर मोरङका सुरक्षा निकाय प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिलगायतको उपस्थितिमा सहमति गरिएको मोरङका सीडिओ वीरेन्द्रकुमार यादवले नेपाल प्रेसलाई बताए ।
पक्राउ परेका २६ जनालाई विनाशर्त रिहाइको माग गर्दै पहिचानवादीले आम हड्तालका कार्यक्रम सार्वजनिक गरेका थिए । वार्तापछि आमहड्ताल फिर्ता लिने सहमति भएको छ । प्रशासन र आन्दोलनकारीबीचमा भएको सहमतिमा पुनः नामकरण संयुक्त संयुक्त समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यहरू भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पु¥याउने कार्य नगरी कानुन सम्मत शान्तिपूर्ण रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ ।
जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरू छुटेपछि आम हड्ताल फिर्ता लिने सहमति गरिएको छ । उनीहरूलाई आजै छाड्ने प्रशासनले तयारी गरेको छ ।
किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले पक्राउ परेका २६ जनालाई प्रशासनले मुद्दा चलाउने तयारी गरेकोमा छलफलपछि विनाशर्त रिहाइ गर्न लागेको बताए ।







प्रतिक्रिया