प्रदीप परियार
बिर्तामोड । झापा बिर्तामोडस्थित प्रकाश आयल टे«डर्सले सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन वितरण गरेको उपभोक्ताले आरोप लगाएका छन् । पानी मिसाएको भन्दै पििडतहरु आक्रोसित भएका छन् । केहि दिनदेखि सो पम्पमा इन्धन भर्नेहरुको सवारी साधनहरुमा समस्या देखापर्न थालेपछि धेरै पीडितहरु अहिले पम्पमा भेला भएका छन् ।

अधिकांश उपभोक्ताले पेट्रोलमा पानी मिसावट गरेको आरोप लगाएका छन् । मेची आँखा अस्पतालदेखि पूर्व भागमा रहेको उक्त पम्पले परिमाणमा समेत ठगि गर्ने गरेको पीडितहरुको गुनासो छ । अहिले पम्पमा भेला भएका पीडितहरु पम्पले उपभोक्तालाई सिधैं ठगी गरेको आरोप लगाएका छन् । पीडितहरुको भीड बढेपछि सुरक्षा व्यवस्था कडाई गरिएको छ ।
बिर्तामोड-३ का डम्बर बस्नेतले ३ दिनअघि सो पम्पमा तेल हालेका थिए । १ हजारको तेल हालेर पम्प बाहिर निस्किएका बस्नेतको मोटरसाइकल अकास्मात बन्द भएपछि डोहोर्याउदै केहि समस्या आयो होला भन्दै सैनिक मोड पुगेको बताउछन् । तेल हालेपछि मोटरसाइकलको ब्याट्रीमा समस्या आएको उनले सुनाए । उनले ४-५ लाखमा खरिद गरेको मोटरसाइकल विग्रिएपछि पम्पमा पुगेर समस्या राखेकाा छन् । उनले परिमाणमा समेत पम्पले ठगी गर्ने गरेको गुनासो राखे ।

यस्तै, हल्दिवारीका देवनारायण चुडालले पैसा तिरे बराबरको तेल नपाइने गरेको बताएका छन् । उनले पम्पहरुमा यस प्रकारको ठगी बढिरहेकोले अनुगमन गर्न आग्रह गरे ।
बिर्तामोड–३ की सर्मिला लिम्बुको स्कुटर पम्प बाहिर पुग्ने वित्तिकै बन्द भएको सुनाइन् । आज साँझ अफिसबाट घर फर्किने क्रममा उनले स्कुटरमा तेल हालेकी थिइन् । लिम्बुले भनिन्, बाहिर पुग्ने वित्तिकै बन्द भएपछि मिस्त्रीलाई बोलाउन खोज्दा पम्पका स्टाफले हतारहतार भित्र लगेर बनाइदिने भने ।
अर्का उपभोक्ता आकाश राजवंशीले फुल टेंकी तेल हालेर निस्किने वित्तिकै मोटरसाइकल बन्द भएको सुनाए । १७ सय ५० रुपैयाँको तेल हालेर निस्किएका राजवंशीले मिस्त्रि बोलाइर ट्यांकी खाली गराए । पेट्रोलभन्दा पानी धेरै भेटिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बिर्तामोड-३ का सन्तोष पाठकको पनि उस्तै समस्या छ । आठ दिनअघि ३ हजारको तेल हालेदेखि गाडिमा समस्या आएको छ । गाडिको स्टार्ट बन्द हुने समस्या भएको पाठकले जानकारी दिए । उनले पम्प लगेर गाडि छोडिदिने र समस्याको पहिचान नभएसम्म गाडि फिर्ता नलिने चेतावनी दिए । उनले पानीसहितको तेल भएको शंका गरेका छन् । गाडिमा तेलको समस्या भए सञ्चालकले सबै व्यहोर्नुपर्ने उनको अडान छ । इन्धन प्रयोग गर्ने वित्तिकै समस्या आएपछि १६ जनाले नाम टिपाएका छन् । उनीहरुले गाडिमा आएको समस्या पम्प सञ्चालकले क्षतिपूर्ति व्यहोर्नुपर्ने माग राखेका छन् ।

यता, पम्पका सञ्चालक प्रकाश सरियाले पम्पमा नियतवश पानी मिसावट नभएको दावी गरेका छन् । उनले टं्याकीमा लिकेज भएको आशंका गरे । सरियाले भने – पेट्रोलमा पानी मिसावट नै हुदैन । कतैबाट लिकेज भए त्यसको समाधान खोज्नेछौं । अधिकांश पीडितहरुलाई उनले तेलकै खरावीका कारण सवारीहरुमा समस्या भए समाधान खोज्ने विश्वास दिलाएका छन् । पीडितहरु आक्रोसित हुदै भेला हुन थालेपछि पम्प बन्द गरिएको छ । उक्त समस्याको समाधान नगरेसम्म पम्प नखोल्ने बताइएको छ ।







प्रतिक्रिया