गगन ढकाल
झापा । झापामा समाजिक सञ्जाल सम्बन्धी अपराध दिन प्रतिदिन बढिरहेको छ । झापा जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आ.व. २०७९/०८० मा करिब तीन गुणा बढी उजुरी परेको छ ।

झापा जिल्ला प्रहरी कार्यालयमा ०७७/०७८ मा ६६ वटा परेको उजुरी आ.व २०७९/०८० मा पुग्दा १९१ पुगेको छ । झापा जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार झापामा सामाजिक सञ्जाल फेसबुकको फेक आइडी खोलेर मानिसको मान हानी गर्ने गरेको उजुरी धेरै पर्ने गरेको छ ।
सूचना अधिकारी रिजालले सामाजिक सञ्जालबाट हुने गरेको लैङ्गिक अपराध पनि धेरै रहेको बताएका छन् । उनले केही उजुरी त पहिले प्रेमी प्रेमिका हुने अनि पछि विछोड भएपछि सम्बेदनशील तस्वीर सार्वजनिक गरिदिन्छु भनेर धम्काउने गरेको पनि पाइएको बताए ।
सूचना अधिकारी रिजालले विभिन्न सामाजिक सञ्जाल जस्तै इमो र वाटस्यापमा तपाईलाई चिट्ठा परो भनेर बैंक खातामा पैसा हाल्न लगाएर ठगी भएको जानकारी दिएका छन् । साथै उनले यस प्रकारका प्रलोभनमा नफस्न आम नागरिकहरुलाई आग्रह समेत गरेका छन् ।
अघिल्लो आर्थिक वर्षसम्म जिल्ला प्रहरी कार्यालयले साइबर अपराध सम्बन्धी उजुरी लिने गथ्र्यो । अनुसन्धान गर्ने र अदालतमा मुद्दा चलाउने काम काठमाडैंस्थित साइबर क्राइम ब्यूरोले मात्र गर्दथ्यो । तर, चालू आर्थिक वर्ष २०८०/०८१ बाट भने जिल्ला प्रहरी कार्यालबाटै अनुसन्धान गर्ने र आवश्यकता अनुरुप मुद्दा चलाउने काम गर्न सुरु गरिएको छ ।
के हो साइबर अपराध
सामान्य रुपमा कम्प्युटर वा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक क्रियाकलापहरूलाई साइबर अपराध भनिन्छ । कम्प्युटर, कम्प्युटर प्रणाली, मोबाईल र इन्टरनेटको प्रयोग गरी गरिने अनलाइन चोरी, अनलाइन घोटला, पहिचान चोरी, ह्याकिङ्, यौवन दुराचार, मान हानी र मानव अधिकार माथिको अवहेलना गर्नु नै साइबर अपराध हो ।

परम्परागत अपराध (समाजमा पहिले देखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू) हरु पनि यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराध भनिन्छ । उद्दाहरणका लागि नेपालमा लट्री खेल्नु खेलाउनु दुवै गैर कानूनी कार्य हो । यदी कसैले अनलाइन प्लेटफर्मको प्रयोग गरेर लट्री खेलाए वा खेले त्यो साइबर अपराध हुन्छ । त्यस्तै जुवा खेल्ने कार्यलाई नेपालको कानूनले रोक लगाएको छ र अपराधका रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । इन्टरनेटको प्रयोग गरी जुवा खेलाउनु वा इन्टरनेटमा जुवा खेल्नु पनि अपराध हो र यसलाई धेरै देशहरूले अनलाइन ग्याम्बलिंङका रुपमा निषेध गरेका छन् । अनलाइन जुवा साइबर अपराध हो ।
नेपालमा साइबर कानुन
नेपालमा साइबर अपराधलाई निरुत्साहित बनाउन नेपालको विद्युतीय कारोवार ऐन, २०६३ निर्माण गरिएको छ । यसको ऐनको दफा ४७ ले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्न किसिमका सामग्रीहरू तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका सामग्री कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ ।
यस ऐनमा विद्युतीय प्रसविधि मार्फत गरिएको अपराधको गम्भीरताका आधारमा कानूनी उपचारको पनि व्यवस्था गरेको छ । तर, नेपालमा साइबर अपराध सम्बन्धी कानून समयानुकुल परमार्जित नहुँदा यसको प्रभाव भने आफैमा कम्जोर भएको पाइएको छ ।







प्रतिक्रिया