विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौमा हुने भएको छ ।

शुक्रबार विराटनगरस्थित डिग्री क्याम्पसमा बसेका प्रदेश कमिटीको बैठकले भदौ १५ र १६ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो । प्रदेश अध्यक्ष गोकर्ण घिमिरेका अनुसार अधिवेशन विराटनगरमा हुनेछ ।
अनेरास्ववियुले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न आठ वटा उपसमिति समेत गठन गरेको छ । जिवी गजलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, नवराज घिमिरे संयोजक रहेको प्रचारप्रचार उपसमिति र कमल पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ ।
यसैगरी जनपरिचालन तथा स्वयम्सेवक उपसमितिमा जोसेफ घिमिरे, खाद्यान्न तथा आवास व्यवस्थान र राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिमा सन्तोष घिमिरे, मञ्च व्यवस्थापनमा तुलसी घिमिरे र आतिथ्य संत्कार उपसमितिको संयोजकमा पुष्पा चौलागाईं चयन भएका छन् ।
अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाबाट १/१ जना, उपमहानगरपालिकाबाट १ महिलासहित ३ जना, महानगरपालिकाबाट २ महिलासहित ५ जना, जिल्ला कमिटीबाट २ महिलासहित ५ जना, स्ववियु निर्वाचन हुने क्याम्पसबाट १ जना, स्ववियुबाट १ जना, पियुका आंगिक क्याम्पसबाट १/१ जना र आयोजक कमिटीका सदस्यहरु प्रतिनिधि रहनेछन् । त्यसका लागि भदौ ८ गतेभित्र प्रतिनिधि छनोट गरी जिल्ला अध्यक्ष र इन्चार्जको हस्ताक्ष्रमा १० गतेभित्र प्रतिनिधि व्यवस्थापन उपसमितिलाई विवरण बुझाइसक्नुपर्नेछ ।







प्रतिक्रिया