विराटनगर – २४ घण्टाका लागि धरानमा निषेधाज्ञा जारी भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गर्न सुरु भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १ २ बजेसम्म निषेधाज्ञा जारी गरेपछि धरान प्रवेशमा विभिन्न स्थानहरुमा कडाइ गर्न थालिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धरान प्रवेश गर्ने नाकामा कडाइ गर्न थालेका छन् । धरानमा शनिबार हिन्दु समर्थकले वृहत् प्रदर्शन गर्ने भएका छन् । उनीहरुले पछिल्लो समय चर्चामा रहेको गोरु काटेर खाएर सामाजिक सञ्जालमा प्रयोग भएका सामाग्री र र मन्दिर अगाडि चर्च बनाएको भन्दै प्रदर्शनको तयारी गरेका हुन् ।

उक्त प्रदर्शनबाट साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सदभाव भडकाउने जो कोहिलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन् ।
धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताए । धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।







प्रतिक्रिया