Banner news

झापामा जंगली हात्तीको आक्रमणबाट पाँच वर्षमा १९ जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट पाँच वर्षमा १९ जनाको मृत्यु


गगन ढकाल

झापा । झापा हात्ती प्रभावित जिल्ला हो । झापाको बाहुण्डाँगी, भद्रपुर, कनकाई हात्तीबाट धेरै प्रभावित क्षेत्रमा पर्दछ । झापामा हात्तीको आक्रमणबाट वर्षेनी झापाबासीको ज्यान गइरहेको हुन्छ । साथै झापामा हात्तीले पनि वर्षेनी ज्यान गुमाइरहेको छ ।

पछिल्लो पाँच वर्षमा झापामा हात्तीको आक्रमणमा परी २२ जनाले ज्यान गुमाएका छन् जसमध्ये तीन जना भारताीय नागरिक रहेका छन् भने १९ जना नेपाली नागरिक रहेका छन् । यसै गरी पछिल्लो पाँच वर्षमा झापामा नौ वटा हात्तीले पनी ज्यान गुमाएका छन् ।

पछिल्लो पाँच वर्ष मध्ये आर्थिक वर्ष २०७९-०८० सबैभन्दा धेरै नागरिकहरुले ज्यान गुमाएको वर्ष हो । यस आ.वमा झापामा छ जना नागरिकले ज्यान गुमाए । जसमध्ये दुई महिला र चार पुरुष रहेका छन् । यस आ.वमा मेचीनगरका दुई, बाह्रदशी, कचनकवल, हल्दीबारी र बुद्धशान्तिका एक–एक जना गरेर छ जनाले ज्यान गुमाएका हुन् । यसैगरी यस वर्ष झापामा दुईवटा हात्तीले पनि ज्यान गुमाएका छन् ।

यसै गरी आ.व २०७८-०७९ मा झापामा पाँच मानिसको ज्यान जाँदा दुई वटा हात्तीले पनि ज्यान गुमाएको छ । यस आ.वमा ती जना मेचीनगर बासी र दुई जना भद्रपुर बासीले ज्यान गुमाएका थिए ।

यसैगरी आ.व २०७७-०७८ मा पाँच जना मानिसले ज्यान गुमाएका छन् । यो आर्थिक वर्ष हात्तीका निम्ति भने राम्रो देखिएको छ । यो वर्ष झापामा हात्तीले ज्यान गुमाएनन् । ज्यान गुमाउने नागरिकहरुमा चार जना पुरुष र एक महिला थिए ।

यसैगरी आ.व २०७६-०७७ मा दुई नागरिक र दुई हात्तीले ज्यान गुमाए । साथै आर्थिक वर्ष २०७५-०७६ मा तीन हात्ती र एक मानवले ज्यान गुमाए । झापामा हात्तीको आक्रमणमा गरी ज्यान गुमाउने मानिसको संख्या वृद्धि भइरहदा ज्यान गुमाउने हात्तीको संख्यामा पनि वृद्धि भइरहेको छ ।

झापालीले पछिल्लो पाँच वर्षमा हात्तीले गरेको नोक्सानको मलम स्वरुप चार करोड ५५ हजार एक सय पाँच राहात प्राप्त गरेका छन् । यस राहातद्वारा झापामा दुई हजार एक सय ९७ परिवार लाभान्वित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares